रसुवागढी नाकाबाट आठ जना पक्राउ, तीन करोडका सामान बरामद

53

रसुवा : चालु आर्थिक वर्षको प्रथम चौमासिक अवधिमा भन्सार छल्ने आठजनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। उनीहरूको साथबाट तीन करोड ३१ लाख ८१ हजार १९८ बराबरको सामग्री बरामद भएको जिल्ला प्रहरी प्रमुख सुवास बुढाथोकीले जानकारी दिए।
चीनबाट आयात गरेका ती सामग्री रसुवागढी, घट्टेखोला, टिमुरे र स्याफ्रुबेँसीसमेतका स्थानमा केही भारिया र केही विभिन्न सवारी साधनमार्फत काठमाडौं लग्ने क्रममा प्रहरीले बरामद गरेको हो। रसुवागढी नाकामा चोरी निकासी नियन्त्रण गर्न नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बल परिचालित छन्। प्रहरीले गत वर्ष पनि एक करोड ५१ लाख ५६ हजार २३० बराबरको सामग्री बरामद गरी कानुनी कारबाहीका लागि भन्सार कार्यालय टिमुरेलाई बुझाएको थियो। यस्तै जिल्ला प्रहरी कार्यालयले चालु आवको हालसम्म विभिन्न घटनाका १४ मुद्दा जिल्ला सरकारी वकिलमार्फत अदालतसामु पेश गरेको छ। यसरी पेश भएका मुद्दामा लागुऔषध, कर्तव्य ज्यान र चोरीलगायत छन्।