अग्रगमनतर्फ लाग्नुको विकल्प छैन : एमाले

51

काठमाडौँ : नेकपा (एमाले)को छैटौँ केन्द्रीय कमिटीको आजको बैठकले लोकतान्त्रिक गणतन्त्र, नेपालको संविधान र विकास निर्माणका क्षेत्रमा भएका उपलब्धिलाई अवमूल्यन गर्दै समाजमा निर्माण गर्न खोजिएको नकारात्मक मनोविज्ञानको अन्त्यगरी अग्रगमनतर्फ लाग्नुको विकल्प नभएको निष्कर्ष निकालेको छ। पार्टी अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा भएको बैठकले ‘पुराना पार्टीका असफलता’ भन्ने भाष्य निर्माण गर्दै आफूसँग सबै समस्याको समाधान रहेको भ्रम छर्न खोज्नेसँग सजग रहन आग्रह गरेको छ। समाजको नैराश्यको अवस्थालाई अन्त्य गरेर मुलुक बन्छ, बन्दैछ भन्ने दह्रो आत्मविश्वास निर्माणका साथ प्राप्त उपलब्धिको रक्षा एवं सम्बद्र्धनसहित यही मङ्सिर १४ गतेदेखि तीन हप्तासम्म पुष्पलाल (मध्यपहाडी) लोकमार्ग केन्द्रित विशेष अभियानको कार्यक्रमलाई बैठकले पारित गरेको छ बैठकपछि पार्टीका केन्द्रीय प्रचार तथा प्रकाशन विभागका प्रमुख राजेन्द्र गौतमले जारी गरेको विज्ञप्तिमा राष्ट्रिय झन्डा फहराएर ‘झुलाघाट–चिवाभञ्ज्याङ : समृद्धिका लागि सङ्कल्प यात्रा’ आरम्भ गर्ने निर्णय गरेको उल्लेख छ। पूर्वाधार, स्वास्थ्य, खानेपानी र शिक्षा क्षेत्रको विकासका लागि तीव्ररूपमा भइरहेको बसाइँसराइँ अहिले पहाडी क्षेत्रको बन्न गएकाले समृद्धिको अभियानका उक्त क्षेत्रलाई कसरी जोड्न सकिन्छ भन्ने विषयमा अभियानका क्रममा अवलोकन गरिने जनाइएको छ।