नागरिकता विधेयमा सरकारलाई भाषा मिलाउन जनार्दन शर्माको सुझाव

60

भदौ २६,
काठमाडौँ । विहिवार संसदको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा भएको नागरिकता विधेयक माथिको छलपलमा भाग लिदै नेकपाका सांसद जनार्दन शर्माले नागरिकता विधेयमा सरकारलाई भाषा मिलाउन सुझाव दिए । यो विधेयकमा नेपालीसँग विवाह गरेर आएका महिलालाई कति समयपछि मात्रै नागरिकता दिने भन्नेमा सांसदहरुबीच विवाद छ ।

पूर्वगृहमन्त्री समेत रहेका शर्माले वैवाहिक जीवनमा व्यवहारिक संकट नआउने गरी समाधान गर्नुपर्ने बताए । ‘कुन देशमा के छ भन्ने भन्दा पनि हामी यो समस्यालाई कसरी समाधान गर्ने भन्नेमा केन्द्रीत हुनुपर्छ । अरु देशका उदाहरण लिनु एउटा कुरा हो तर त्यही देशको जस्तो हुनुपर्छ भन्ने छैन’ शर्माको भनाई छ । उनले पूर्व पश्चिमम या उत्तर दक्षिण जुनसुकै सीमानामा बसेपनि हामी सवै नेपाली भएको र कस्तो कानुुन बनाउने भन्ने पनि हाम्रो आफ्नै जिम्मेवारीभत्र पर्ने बताए । उनले हाम्रो आर्थिक अवस्था, जनसंख्या र छिमेकी देशहरुको सम्बन्धलाई समेत ख्याल गर्दै नोपलको हित र रक्षालाई प्राथमिकतामा राख्दै कानुन निर्माण गर्न सक्नुपर्ने बताए ।

‘भावनात्मक र व्यवहारिक रुपमा मात्रै यो विषयमा निर्णय गर्ने होइन यसलाई रणनैतिक रुपमा पनि हेर्नुपर्छ । त्यसैले विधेयकमा सरकारले भाषा मिलाएर ल्याउनुपर्ने देखिन्छ’ शर्माको सुझाव छ । उनले कानुन बनाउँदा छिमेकीहरुसँगको सम्बन्धका बारेमा पनि ख्याल गर्नुपर्ने बताए । ‘छिमेकीहरुको सम्बन्ध तोड्ने होइन, त्यसलाई जोगाउदै अघि बढ्नुपर्छ’ शर्माको जोड छ ।

बैठकमा अधिकाँश सदस्यहरुले विदेशी बुहारीलाई ५ बर्षपछि मात्रै नागरिकता दिनुपर्ने अडान राखेका थिए । समितिको बिहीबारको बैठकमा पनि समिति सदस्यहरुबीच वैवाहिक अंगिकृत नागरिकताबारे फरक–फरक धारणा आएपछि शुक्रबार सम्मका लागि बैठक स्थगित गरिएको छ ।