काठमाडौं : अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु आज नेपाल आउँदै छन्। दक्षिण तथा मध्यएसिया हेर्ने सहायक विदेशमन्त्री लुले एकदिने नेपाल भ्रमणका क्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल र परराष्ट्रमन्त्री एनपी साउदसँग शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम छ।काठमाडौंस्थित अमेरिकी दूतावासले बिहीबार लुको भ्रमणको औपचारिक घोषणा गरेको हो। ‘उहाँ फेरि नेपाल आउन उत्सुक हुनुहुन्छ,’ दूतावासले फेसबुक पोस्ट गरेको छ । लु अहिले दक्षिण एसिया भ्रमणमा छन् । प्रधानमन्त्री दाहाल र परराष्ट्रमन्त्री साउदसँगको शिष्टाचार भेटवार्तामा लुले ५०० मिलियन अमेरिकी डलर अनुदानको एमसीसी परियोजना कार्यान्वयनको अवस्था, दुई मुलुकबीचको सम्बन्धलगायत विषयमा कुराकानी गर्ने तयारी छ।
दूतावासका अनुसार लुले अमेरिकन चेम्बर अफ कमर्सका एक सदस्य संस्थासँग भेटघाट गर्नेछन्। नेपालीलाई विश्वव्यापी रूपमा प्रतिस्पर्धा गर्न सक्षम बनाउने उद्देश्यले सीप प्रदान गर्न उक्त संस्थाले गरेका प्रयासबारे लुले बुझ्ने दूतावासले जनाएको छ। सहायक विदेशमन्त्री लु दक्षिण तथा मध्यएसिया मामिलामा दख्खल राख्ने अमेरिकी कूटनीतिज्ञमा पर्छन् । उनी २०७८ भदौ ३० मा दक्षिण तथा मध्यएसिया मामिला हेर्ने सहायक विदेशमन्त्री नियुक्त भएका हुन।














