राहुल गान्धीले दिए काँग्रेसको अध्यक्षबाट राजीनामा

146

एजेन्सी,असार १९,
नयाँ दिल्ली । भारतको प्रमुख विपक्षी काँग्रेसका अध्यक्ष राहुल गान्धीले पार्टीको अध्यक्ष पदबाट राजीनामा दिएका छन् । यसअघि नै उनले काँग्रेसको अध्यक्ष पद छाड्ने घोषणा गरेका थिए । तर पार्टीले निर्वाचन परिणामलगत्तैको उनको निर्णययलाई अस्वीकार गरिदिएको थियो । राजीनामा दिँदै उनले गत महिना सार्वजनिक भएको लोकसभा निर्वाचनको मत परिणामअनुसार पार्टीको पराजयको जिम्मेवारी लिएका छन् । उनले आफ्नो राजीनामा पत्र सामाजिक सञ्जाल ट्वीटरमा समेत राखेका छन्।

राजीनामामा उनले अरुको जवाफदेहिता खोज्नुअघि आफू जवाफदेही हुन आवश्यक रहेको बताएका छन्। भारतको काँग्रेस राजनीतिमा गान्धी परिवार लामो समयदेखि सक्रिय रहँदै आएको छ । गान्धीका पिता राजीव गान्धी, हजुरआमा इन्दिरा गान्धी र जिजुबुवा जवाहरलाल नेहरु भारतका पूर्व प्रधानमन्त्री हुन् ।
राजीनामा पत्रमा उनले सत्तारुढ भारतीय जनता पार्टीप्रति आफ्नो कुनै द्वेष वा रिस नरहेको बताएका छन् । तर भारतको बारेमा सो पार्टीको विचारको आफ्नो शरीरको प्रत्येक कोषले विरोध गर्ने बताएका छन् । उनले चुनावी निस्पक्षतामाथि प्रश्न उठाउँदै भनेका छन् ‘हामीले राजनीतिक पार्टीसँग लडेका होइनौं । हामीले भारतको समग्र पद्दतीसँग लडेका हौं।’