काठमाडौँ : सत्तारुढ दल नेकपा (माओवादी केन्द्र)ले केन्द्रीय समितिको बैठक आह्वान गरेको छ। असार २३ गतेदेखि राजधानीको प्रज्ञा–प्रतिष्ठानमा बस्ने गरी बैठक बोलाइएको छ। बैठकमा केन्द्रीय सदस्य, वैकल्पिक केन्द्रीय सदस्य, आयोगका सदस्य र प्रदेशका पदाधिकारी गरी करिब सात सय सहभागी हुने केन्द्रीय कार्यालय सचिव डोरप्रसाद उपाध्यायले जानकारी दिए। केन्द्रीय सदस्य ३८६ र वैकल्पिक केन्द्रीय सदस्य २०२ गरी माओवादीको केन्द्रीय समिति ५८८ सदस्यीय रहेको छ।
माओवादीमा तीन आयोग, सात भौगोलिक र तीन गैरभौगोलिक प्रदेश रहेका छन्। माओवादीले भुक्तानी गर्नुपर्ने बक्यौता तथा लेबी समयमै पूरा गर्न मातहतका सङ्गठनलाई निर्देशन दिएको छ। लामो समयदेखि माओवादीको केन्द्रीय समिति बैठक बस्न सकेको छैन। माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्रीमा नियुक्त भएपछि ‘भर्चुअल’ रूपमा केन्द्रीय समिति बैठक बसेको थियो। यसअघि गत वर्ष असारमा केन्द्रीय समिति बैठक बसेको थियो। गत मङ्सिरमा सङ्घ र प्रदेशको निर्वाचन, नयाँ सरकार गठन, राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचनका कारण बैठक बस्न नसकेको माओवादीले जनाएको छ।‘औपचारिक बैठक नबसेको लामो समय भएको थियो’, केन्द्रीय कार्यालयका सचिव उपाध्यायले भने, ‘तीन दिनसम्म चल्ने बैठकमा समग्र विषयमा समीक्षा हुनेछ।’














