काठमाडौं विश्वविद्यालय को २८औँ दीक्षान्त समारोह

66

काभ्रे : काठमाडौं विश्वविद्यालय (केयु)को २८औँ दीक्षान्त समारोह (दोस्रो चरण)बाट १ हजार २४० विद्यार्थी दीक्षित हुने भएका छन्। केयुका उपकुलपति प्राडा भोला थापाले बिहीबार पत्रकार सम्मेलानमार्फत दीक्षान्तमा विभिन्न विधाका ९ जना पीएचडी, ४१ जना एमफिल, स्नातकोत्तर तहका ९८ जना र स्नातक १ हजार ९२ जना सहित जम्मा १ हजार २४० जना विद्यार्थी दीक्षित हुने जानकारी दिए।उनका अनुसार २८ औँ दीक्षान्त समारोहको दोस्रो चरणको कार्यक्रममा स्कुल अफ साइन्स, इन्जिनियरिङ, शिक्षा, म्यानेजमेन्ट, मानविकी संकाय, कानुन र मेडिकल साइन्सेज विधाका विभिन्न कार्यक्रममा अध्ययन पूरा गरेकाहरू दीक्षित हुन लागेका हुन्।

तीमध्ये मानविकी संकायका ३५ जना, शिक्षाका ५७, इन्जिनियरिङका ३६५, कानुनका १, म्यानेजमेन्टका ५० जना, मेडिकल साइन्सेजका ५६५ जना र साइन्सका १६७ जना विद्यार्थी छन्। दीक्षित हुनेहरूमा चीन, जर्मनी, भारत, अष्ट्रिया, क्यानडा, इटाली, मालदिभ्स, पोर्चुगल,स्पेन, श्रीलंका, ताइवान, संयुक्त राज्य अमेरिका लगायतका देशका विद्यार्थी समेत रहेको केयूले जनाएको छ।
उपकुलपति प्राडा थापाले ०८० जेठ २२ गते सोमबार प्रधानमन्त्रीको सचिवालय बालुवाटार, काठमाडौंमा केयुको ९५ औँ बैठक केयुको ऐन, २०४८ को दफा १३ बमोजिम प्रधानमन्त्री तथा कुलपति पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा सम्पन्न भएको बताए।

केयुको २८औँ दिक्षान्त समारोह (दोस्रो चरण)को तयारीका सन्दर्भमा विभिन्न तहका विभिन्न उपाधिहरू प्रदान गर्न ग्रेसलिष्ट स्वीकृत गर्ने कार्यका लागि बैठक बसेको उनको भनाई छ। उनले सो अवसरमा आ.व २०७८-०७९ को वार्षिक कार्यप्रगती विवरणसमेत स्वीकृत गरेको बताए। उपकुलपति प्रा.डा. थापाले केयूको २८ औँ दीक्षान्त समारोह (दोस्रो चरण) यही ०८० जेठ २८ गते आइतवार केयूको केन्द्रीय परिसर धुलिखेलमा हुने बताए।