उपल्लो डोल्पामा पस्मिना बनाउने तालिम

23

डोल्पा । उपल्लो डोल्पाका च्याङ्ग्रापालक किसानलाई भुवा कोर्ने तालिम दिइएको छ । च्याङग्रापालन अत्यधिक हुने यस क्षेत्रमा भुवा कोर्ने तालिम दिएर पस्मिना बनाउने कार्यलाई थप व्यवस्थित गरेर लैजाने उद्देश्य लिइएको छ । आधुनिक तरिकाले भुवा कोरेर निकालिएको भुवाबाट विभिन्न प्रकारका कपडाहरु बनाइने भएपछि यसलाई आधुनिकीकरणमा जोड दिइएको शे फोक्सुण्डो गाउँपालिकाका अध्यक्ष धावा सम्डुक गुरुङले बताउनुभयो । उपल्लो डोल्पाका तीनवटा पालिकामा च्याङ्ग्रापालन गरिन्छ । स्थानीय उत्पादनलाई जोड दिनका लागि आधुनिक भुवा कोर्ने तालिम दिइएको पालिकाले जनाएको छ । भुवा सङ्कलनको आधुनिक विधिबारे सरोकारवालासँग बृहत् छलफलसमेत गरिएको छ ।

युरोपियन युनियनको सहयोगमा सञ्चालित इयु नेपाल व्यापार तथा लगानी कार्यक्रमको आर्थिक तथा प्राविधिक सहयोग र नेपाल पस्मिना उद्योग सङ्घको संयोजनमा उक्त तालिम दिइएको हो । तीन पालिकाका च्याङ्ग्रापालक किसानलाई भुवा सङ्कलनसम्बन्धी तालिम दिई प्रत्येक पालिकाबाट दुईजनालाई उत्कृष्ट प्रशिक्षक बनाइने आयोजक प्रभाकर घिमिरेले बताउनुभयो । तालिममा तीनवटा पालिकाबाट ६० जना सहभागी छन् । भुवालाई आधुनिक बिधिबाट निकालेर पस्मिना कोर्ने, प्रशोधन गर्ने, आपूर्ति तथा गुणस्तर अभिवृद्धि गर्ने विषयमा छलफल तथा तालिम दिइएको छ ।

उपल्लो डोल्पाका छार्काताङ्सोङ, डोल्पोबुद्ध र शे फोक्सुन्डो गाउँपालिकाका जनप्रतिनिधि, व्यापारी, उद्योगी, व्यापारी, पस्मिना उद्योगी, च्याङ्ग्रापालक किसानहरुको सहभागितामा पहिलो चरणमा दुनैमा छलफल गरी दोस्रो चरणमा तालिम गरिएको हो । किसानहरुलाई गोठमै गएर उक्त भुवा कोर्ने तालिम दिन सुरु गरिनेछ ।

पस्मिना बनाउने व्यवसायीले च्याङ्ग्राबाट निकालिएको भुवालाई आफूहरुले बजारीकरण गर्न सहयोग गर्ने बताएका छन् । गाउँपालिकाका जनप्रतिनिधिले आफ्नो क्षेत्रमा च्याङ्ग्रापालन व्यवसायलाई अझै विकास तथा गुणस्तर सुधारका लागि आवश्यक सहयोग गर्ने प्रतिबद्धता गरेको डोल्पोबुद्ध गाउँपालिका अध्यक्ष कार्मा छोइबेल गुरुङले बताउनुभयो ।
आधुनिक तरिकाले भुवा सङ्कलन गर्न आवश्यक सामग्रीहरु हस्तान्तरणसमेत गरिने युरोपियन युनियन नेपाल व्यापार तथा लगानी कार्यक्रममा परामर्शदाता शिचन श्रेष्ठले बताउनुभयो । च्याङ्ग्रा उपल्लो डोल्पाको सबैभन्दा राम्रो पशुपालनमध्येमा पर्दछ । आवश्यक खाद्यान्न ढुवानी, मासु तथा भुवाका लागि च्याङ्ग्रा प्रसिद्ध रहँदै आएको छ । पस्मिनाबाट सल, महिला तथा पुरुषका लागि स्वेटर, कम्बल, टी–सर्ट, स्कार्फ, पञ्जालगायत उत्पादन हुन्छ ।

नेपालले सन् २०२१ मा रु दुई अर्ब ५३ करोड ९करिब एक करोड ९३ लाख अमेरिकी डलर बराबर० को पस्मिना सल निर्यात गरेको थियो । यो रणनीतिले सन् २०२६ को अन्त्यसम्ममा सात करोड ५० लाख अमेरिकी डलर मूल्य बराबरको पस्मिना निर्यातको लक्ष्यसहित नेपालबाट यसको निर्यातमा दिगो वृद्धिमार्फत थप राष्ट्रिय समृद्धि हासिल गर्न सहयोग पु¥याउनेछ ।