‘मजदुरका हकहित सम्बर्द्धनमा कांग्रेस सधैँ लागिरहने छ’

16

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मजदुर वर्गका समस्यालाई समाधान गरेर उनीहरुको हक र हितको सम्वर्द्धन गर्न कांग्रेस सदैव सचेत भएर लागिरहने बताएका छन्। मे १ अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा उनले शुभकामना सन्देशमार्फत नेपाल तथा विश्वभर छरिएर रहेका सम्पूर्ण श्रमजीवीमा सुख, शान्ति र समृद्धिको शुभ–कामना व्यक्त गरेका छन्।

मे १ तारिख मजदुर वर्गले लामो सङ्घर्षपछि आफ्नो अधिकार प्राप्त गरेको एक ऐतिहासिक दिन हो । यो दिनलाई संसारभरिका मजदुरहरुले अन्तर्राष्ट्रिय श्रमिक दिवसका रुपमा मनाइँदै आएका छन् । सभापति देउवाले २००३ सालमा कांग्रेसको नेतृत्वमा विराटनगरमा मजदुरहरुको पहिलो ऐतिहासिक आन्दोलन भएको उल्लेख गर्दै सरकारले त्यो लामो आन्दोलनलाई निर्ममतापूर्वक दबाउने नीति अख्तियार गरेर जननायक बीपी कोइरालालगायत धेरै नेताहरुलाई पक्राउ गरेको बताएका छन्।