Tuesday, September 22, 2026
Home समाचार अयोग्य लडाकुलाई आर्थिक सहयोग गर्ने सरकारको निर्णय खारेजीको माग

अयोग्य लडाकुलाई आर्थिक सहयोग गर्ने सरकारको निर्णय खारेजीको माग

29

काठमाडौं– मानवअधिकार तथा शान्ति समाजले अयोग्य घोषित माओवादी लडाकुलाई आर्थिक सहयोग गर्ने सरकारको निर्णय खारेज गर्न माग गरेको छ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको वर्तमान सरकारले अयोग्य घोषित माओवादी लडाकुलाई दुई लाखका दरले सहयोग उपलब्ध गराउने निर्णय गरेको छ ।

उक्त निर्णय खारेज गर्न समाजले बिहीबार सभामुख देवराज घिमिरेसँग आग्रह गरेको हो । शान्ति प्रक्रियाका क्रममा अनमिनले ४ हजार ८ जना माओवादी लडाकुलाई अयोग्य घोषित गरेको थियो । उनीहरूलाई दुई लाख रुपैयाँका दरले दिने सरकारको निर्णय खारेज गर्न समाजले माग गरेको हो । समाजको प्रतिनिधिले सभामुख घिमिरेलाई ज्ञापनपत्र बुझाउँदै अयोग्य लडाकुलाई दुई लाख रुपैयाँ दिने र ‘जनयुद्ध दिवस’ भनी राष्ट्रिय दिवसका रुपमा मनाउने सरकारको दुवै निर्णय खारेज गर्न माग गरेका हुन् । शान्ति समाजका संस्थापक सभापति कृष्ण पहाडी, सभापति रामकृष्ण बराल, सल्लाहकार गोविन्द खनाल, काठमाडौं शाखा सभापति भगवान पुडासैनीले सभामुख घिमिरेलाई भेटेर ज्ञापनपत्र बुझाउँदै उक्त माग राखेका हुन् ।