शरतसिंह भण्डारीः पञ्चायतकालदेखि गणतन्त्रसम्म मन्त्री

51

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले तीन महिनामै सातौं पटक मन्त्रिपरिषद्‌ पुनर्गठन गरेका छन् । यो पटकको सरकार विस्तामा लोकतान्त्रिक समाजवादी पार्टीका वरिष्ठ नेता शरतसिंह भण्डारी श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री बनेका छन् । पहिलो पटक २०४४ सालमा मरिचमानसिं श्रेष्ठको पालामा सहायकमन्त्री बनेका भण्डारी योसहित १५औं पटक मन्त्री बनेका हुन् । उनले पटक पटक राज्यमन्त्री र मन्त्रीको जिम्मेवारी सम्हालिसकेका छन् । उनी त्यस्ता नेता हुन् जो पञ्चायतकालदेखि गणतन्त्रसम्म १५ पटक मन्त्री भइसके ।

सुरुमा कांग्रेसमा रहेर राजनीति गरेका उनले बीचमा स्वतन्त्र रुपमा चुनाव जितेर पनि अन्यत्र लागेनन् । ०५६ मा कांग्रेसबाटै प्रतिनिधिसभा चुनाव जितेका भण्डारी ०६२/०६३ को जनआन्दोलन पछि भने तराई मधेश केन्द्रित राजनीतिमा लागे ।पहिलो संविधानसभा निर्वाचनमा तत्कालीन मधेशी जनअधिकार फोरम नेपालबाट निर्वाचित हुँदै मन्त्री भए । माधवकुमार नेपाल नेतृत्वको सरकारमा २०६६ सालमा संस्कृति, पर्यटन तथा नागरिक उड्यन र डा।बाबुराम भट्टराई नेतृत्वको सरकारमा रक्षामन्त्री भए । ‘मधेश टुक्रन सक्ने विवादास्पद अभिव्यक्ति’ दिएपछि उनको रक्षामन्त्री पद खोसिएको थियो ।

०७० को चुनाव हारेका भण्डारी ०७४ र ०७९ को चुनावमा भने पुनः प्रतिनिधिसभा सदस्यमा निर्वाचित भए । प्रतिनिधिसभाको अघिल्लो कार्यकालमा २०७८ सालमा केपी शर्मा ओली नेतृत्वको सरकारमा भण्डारी १३ दिन ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री बनेका थिए । ०७९ को चुनाव जितेको केही महिनामै भण्डारीले फेरि मन्त्री बन्ने अवसर पाउँदैछन् ।

केपी ओलीको मन्त्रिपरिषद्मा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री भएका थिए। बाबुराम भट्टराईको मन्त्रिपरिषदमा उनले रक्षा मन्त्रालयको जिम्मेवारी सम्हालेका थिए। उनी नेपाली कांग्रेसको तर्फबाट आम निर्वाचन २०५६ मा व्यवस्थापिका संसदमा निर्वाचित भएका थिए।ृ नेपाली कांग्रेस विभाजित हुँदा भण्डारी नेपाली कांग्रेस (लोकतान्त्रिक)को पक्षमा गएका थिए। हाल उनी जनता समाजवादी पार्टी, नेपालका केन्द्रीय सदस्य हुन् । शुक्रबार प्रधानमन्त्री दाहालले कांग्रेस, नेकपा एकीकृत समाजवादी पार्टी, जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी र नागरिक उन्मुक्ति पार्टीलाई समेटेर मन्त्रिपरिषद् पुनर्गठन गरेका हुन् ।

६८ वर्षका भण्डारीले राजनीतिमा मात्रै पाँच दशक बिताए । १६ औं पटक मन्त्री हुँदै गरेका उनी धेरै पटक मन्त्री बन्नेमा पहिलो नम्बरमा रहनेछन् ।