पनौतीमा बोका चोरेर काठमाडौं ल्याउदैं गर्दा……

257

भक्तपुर । जिल्ला प्रहरी परिसर भक्तपुरले विहिबार चेकजाँच गर्ने क्रममा चोरेर ल्याएको बोका सहित २ जनालाई पक्राउ गरेको छ । प्रहरीले बा. २ ज ४३२७ नं को ट्याक्सीमा एक वटा कालो बोकासहित २ जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा ट्याक्सी चालक रामेछाप दोरम्वा १ घर भई हाल भक्तपुर सूर्यविनायक वस्ने वर्ष २४ को सुमन तामाङ र मध्यपुर ठिमी बस्ने वर्ष ४० को मिलन तामाङ रहेका छन् ।

उनीहरुले काभ्रेपलान्चोक पनौती नगरपालिका वडा नं ३ कुशादेवीका रित प्रसाद सापकोटाको घरबाट बोका चोरी ल्याएको प्रहरीको अनुसन्धानमा खुलेको छ । चोरी गरेर ल्याएको खसी बोका रामेछाप मन्थली नगरपालिका वडा नं ५ सुनारपानी घर भई हाल काठमाण्डौं पेप्सीकोलामा रहेको रामेछाप उदयपुर मासु पसलका संचालक दिल बहादुर कार्कीलाई बेच्न गरेको प्रहरीले जानकारी दिएको छ ।

हाल सम्मको प्रारम्भिक अनुसन्धानमा काभ्रेपलान्चोकको विभिन्न ८ स्थान र भक्तपुरको १७ स्थानबाट ४ वटा बोका र ३६ वटा खसी चोरी भएको भन्ने समेत खुल्न आएको जिल्ला प्रहरी परिसर भक्तपुरले जानकारी दिएको छ ।
मासुपसलका संचालक समेतलाई पक्राउ गरी थप अनुसन्धान तथा कारवाहीको लागि चोरीमा संलग्न मानिसहरु, सवारी र बोका समेत ईलाका प्रहरी कार्यालय बनेपा काभ्रेपलान्चोकमा पठाइएको प्रहरीले जानकारी दिएको छ ।