एकीकृत समाजवादीको सचिवालय बैठक बस्दै

33

काठमाडौं : नेकपा एकीकृत समाजवादी पार्टीले सचिवालय बैठक बोलाएको छ। बैठक अहिले केहीबेरमा पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा सुरु हुने प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए। बैठकमा सरकारमा सहभागिताका विषयमा छलफल गर्ने तयारी छ। आजको बैठकमा सरकारमा सहभागी हुने विषयमा कुराकानी हुने उपाध्यक्ष राजेन्द्र पाण्डेले बताए। ‘सरकारमा कसरी जाने भन्नेबारे औपचारिक रुपमा हामी छलफल गर्दैछौं’, पाण्डेले भने, ‘आजै निर्णय नभए पनि गठबन्धन बैठकमा प्रस्तुत गर्ने प्रस्तावको मोटामोटी खाकाबारे बैठकमा छलफल हुन्छ।’ हिजो प्रधानमन्त्रीलाई विश्वासको मत दिएको समाजवादीले गृहसहित तीनवटा मन्त्रालय पाउनुपर्ने दाबी गर्दै आएको छ। बैठकमा सरकारको नेतृत्व कसले गर्ने भन्ने विषयमा पनि छलफल हुनेछ। पार्टीको नेतृत्व गर्दै सरकारमा जान उपाध्यक्ष राजेन्द्र पाण्डे र उपमहासचिव प्रकाश ज्वालाले दाबी गर्दै आएका छन्।