Friday, September 25, 2026
Home राजनीति पत्रकारहरु बिक्रीमा छन्: घिमिरेको आरोप

पत्रकारहरु बिक्रीमा छन्: घिमिरेको आरोप

192

काठमाडौँ । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले पत्रकारहरु बिक्रीमा रहेको आरोप लगाएका छन्। शुक्रबार सिंहदरबारस्थित आफ्नै कार्यकक्षमा नेपाल पत्रकार महासंघको प्रतिनिधिमण्डलसँगको भेटमा उनले यस्तो आरोप लगाएका हुन्।

सभामुख घिमिरेले थर्काएर, किनेर, फकाएर बिग हाउसहरुले प्रभावित पारिरहेको उल्लेख गर्दै पत्रकारहरुलाई त्यसबाट मुक्त हुन पनि आग्रह गरे। मुलुकमा पित पत्रकारिता निकै डरलाग्दो गरी देखापरेको सभामुख घिमिरेको दाबी छ।

उनले पत्रकारहरुले जिम्मेवारीका साथ पत्रकारिता नगरेको जिकिर गर्दै त्यसको प्रभाव समाजमा परिरहेको पनि बताए। सभामुख घिमिरेले सरकार र पत्रकारहरुबीचको सम्बन्ध हानिकारक रहेकाले सञ्चार क्षेत्रको समस्या झनै बढेर गएको उल्लेख गरे। उनले सरकारसँग राम्रो सम्बन्ध कायम गरेर मात्रै राम्रो ऐन, कानुन निर्माणका लागि पत्रकारहरुले राम्रो भूमिका निर्माण गर्न सक्ने पनि स्मरण गराए।

उनले भने, ‘पत्रकारहरु जति जिम्मेवारीसाथ पत्रकारिता गर्नु पर्दथ्यो, त्यो खालको छैन। पित पत्रकारिता अहिले पनि निकै डर लाग्दो गरी छ। जे–जे कारणले भए पनि तिनीहरु प्रभावित छन्। अझ अर्को भन्ने हो भने त बिक्रीमा छन् पत्रकारहरु।’

सभामुख घिमिरेले कानुनको अभावमा मुलुकमा ठगीहरु बढिरहेकाले त्यसलाई नियन्त्रण हुने गरी कानुन निर्माण गर्ने काममा सरकार र राजनीतिक दलहरुलाई सचेत बनाउने काममा पत्रकारिता क्षेत्रले काम गर्नुपर्ने सुझाव दिए।

त्यस अवसरमा महासंघका अध्यक्ष विपुल पोखरेलले भने मिडियामैत्री कानुन निर्माणमा नेतृत्वदायी निर्वाह गर्न सभामुख घिमिरेको ध्यानाकर्षण गराएका थिए।