नीरफूल’ जेठ १९ मा

54

काठमाडौं । करिब चार वर्षअघि निर्माण भएको फूलमान बल निर्देशित फिल्म ‘नीरफूल’को आगामी जेठ १९ गतेलाई नयाँ प्रदर्शन मिति घोषणा गरिएको छ । यसअघि २०७६ सालको चैत ७ गतेलाई प्रदर्शन मिति घोषणा गरिएकोमा कोरोना महामारीका कारण सरकारले हल बन्द गर्ने निर्णय गरेपछि फिल्मको प्रदर्शन अनिश्चितकालका लागि स्थगन भएको थियो । फिल्म भूकम्पको कथामा आधारित छ ।

फिल्ममा दयाहाङ राई, शान्ति वाइवा, बुद्धि तामाङ, पुष्कर गुरुङ, राजन खतिवडा, सरोज अर्याल, सरिता गिरी, जिम्मे छ्योइकी घिसिङ लगायतको अभिनय छ भने म्यानमारका तत्कालिन राजदुत ऊ लिउन उ र अभिनेत्री रेखा थापा विशेष भूमिकामा छन् । धादिङ रुबी भ्यालीको एउटा परिवारमार्फत् भूकम्प बेलाको मानवीय संघर्ष र आम मनोविज्ञानलाई फिल्ममा प्रस्तुत गरिएको छ ।

सोनाम डोमा कार्यकारी निर्माता रहेको फिल्ममा कतारबाट माया केसी, बेलायतबाट दीपक श्रेष्ठ, इजरायलबाट चन्द्रमाया तामाङ, जापानबाट उदय लामा, अमेरिकाबाट रोज लामा, कोरियाबाट दिनेश लम्तरी मगर र नेपालबाट दिजेश श्रेष्ठ, तेन्जिन सोनाम लामा, अजितमान तामाङ, गणेश थापा, अशोक थापा, विके श्रेष्ठ आदि निर्माता छन् । फिल्ममा फूलमान र सचिन घिमिरेको पटकथा छ ।

फ्रेण्ड्स अफ नेपाल-म्यान्मार फ्रेन्डसिप काउन्सिलसँगको सहकार्यमा सेलो प्रोडक्शनले निर्माण गरेको ‘नीरफूल’मा प्रमोद कार्कीको छायांकन, अर्जुन पोखरेल र चन्द्रकुमार दोङको संगीत, निमेष श्रेष्ठको सम्पादन रहेको छ । भूकम्पले हराएका श्रीमती र छोरी खोज्न दयाहाङको चरित्रले गर्ने संघर्षमा आधारित भएर निर्माण भएको यस फिल्मको वितरण गोविन्द शाही तथा मनोज राठीले गर्नेछन् ।