भदौ ११,
काठमाडौं । गत वर्षको फागुनमा प्रदर्शनमा आएको अभिनेता अनमोल केसी अभिनीत फिल्म ‘क्याप्टेन’ का निर्देशक दीवाकर भट्टराई मनछुने लभस्टोरी फिल्म बनाउन सिपालु मानिन्छन् । उनले यसअघि ‘स्टुपिड मन’ र ‘एश्वर्य’ पनि निर्देशन गरेका थिए । अब उनी फिल्म निर्माणमा पनि होमिएका छन् । उनको निर्माण र निर्देशनमा फिल्म ‘तिमिसँगै हुने मन छ’ बन्ने भएको छ ।
सोमबार चलचित्र विकास बोर्डमा निर्देशक भट्टराईले यो नाम दर्ता गराएका छन् । बोर्डमा नाम दर्ता गर्नुपूर्व उनले फिल्मको स्क्रिप्ट पशुपति मन्दिरमा पूजा गरेका थिए । लभस्टोरी जनरामा निर्माण हुने फिल्मको दशैंपछि छायांकन सुरु हुने बताइएको छ । ओम नम शिवाय प्रोडक्सनको व्यानरमा फिल्म निर्माण हुनेछ । अहिले फिल्मको स्क्रिप्टमा काम भइरहेको छ ।
निर्देशक भट्टराईका अनुसार, फिल्ममा नयाँ र पुराना कलाकारको समिश्रण रहनेछ । तर, प्रमुख भूमिकामा कोही कलाकार फाइनल नभएको उनको भनाई छ । ‘तिमिसँगै हुने मन छ’ मा अभिनेता आर्यन सिग्देल र अभिनेत्री दीपिका प्रसाईंको जोडी बाँधिने चर्चा छ । दीपिका निर्देशक भट्टरार्ईकी धर्मपत्नी समेत हुन् । फिल्मका लागि आर्यनसँग मौखिक सहमति भइसकको छ ।
निर्देशक दीवाकर भट्टराई सबै निर्देशकलाई आफैं लगानी गरेर फिल्म निर्देशन गर्न आग्रह गर्छन् । ‘निर्देशकको एउटा आफ्नै सोच हुन्छ । आफ्नो एउटा जनरा हुन्छ । आफैं निर्माता भएपछि स्वतन्त्र भएर काम गर्न पाइन्छ । कसैको दबाबमा काम गर्नु पर्दैन । मलाई जुन जनरामा काम गर्न सक्छु भन्ने कन्फिडेन्ट छ त्यसमा म कसैको दबाब बिना काम गर्दैछु’, उनले भने ।
फिल्ममा अरु निर्माता भएपछि निर्देशकले स्वतन्त्र भएर काम गर्न नसक्ने उनको अनुभव छ । उनी अगाडि भन्छन्, ‘अरुको ब्यानरमा काम गरिसकेपछि त्यो हिसाबको स्वतन्त्रता हुँदैन, जुन आफैं निर्माता हुँदा हुन्छ । मैले सिक्नका लागि फिल्म बनाउन लागेको होइन । जसरी एउटा प्रोफेसनल फिल्म बन्नुपर्छ त्यो प्लान सेट गरेर काम गर्दैछु ।’ फिल्मको कथा उनी स्वयंले लेखेका हुन् ।-filmykhabar.com