अतिक्रमित संरचनामा हटाउँदै उपमहानगर

52

अत्तरिया। कैलाली जिल्लाको धनगढी उपमहानगरपालिकाले अतिक्रमित सार्वजनिक क्षेत्र खाली गराउने अभियान तीव्र पारेको छ । विसं २०२१ को नापीलाई आधार मानेर उपमहानगरपालिकाले अतिक्रमण क्षेत्र खाली गराइरहेको हो । 

पहिलो चरणमा धनगढीको डुबान क्षेत्रलाई प्राथमिकतामा राखेर अतिक्रमण क्षेत्रमा डोजर लगाइरहेको उपमहानगरपालिकाले जनाएको छ । धनगढीको बढी डुबान हुने क्षेत्र वडा नं १ २, ३, ५, ७ का बजार क्षेत्रमा अभियानका रुपमा खाली गराइरहेको उपमहानगरपालिका प्रमुख गोपाल हमालले बताए । 

‘पहिलो चरणमा धनगढीको मुख्य बजार क्षेत्रमा पानीको बहाव नै रोकिने गरी भएको सार्वजनिक क्षेत्रमा डोजरले खाली गराउने काम भइरहेको छ’, प्रमुख हमालले भने , ‘यो अभियान १९ वडामा पाँचै वर्ष सञ्चालन हुनेछ ।’  उनले उपमहानगरभित्र रहेका नाला, खोला, ताल, नदी क्षेत्र जो सुकैले अतिक्रमण गरेको भए पनि हटाउने बताए । ‘धनगढीको सबैभन्दा ठूलो समस्या डुबान हो । यसको समाधान गर्ने हो भने खोलानालालाई प्राकृतिक बहावमा फर्काउनुपर्छ,’ उनले भने , ‘अतिक्रमण नहटाएसम्म डुबानको समस्या समाधान हुन सक्दैन ।’

प्रमुख हमालले अतिक्रमण हटाउन सहयोग गर्न नगरवासीलाई आग्रह गरेका छन् । उनले २०२१ सालको नापी नक्सा अनुसार खोलानालाको बहाव फकाइने बताए । ‘सार्वजनिक ताल, खोलानाला, कुलो मिचेर व्यक्तिगत संरचना बनाएका केही सीमित व्यक्तिका कारण सम्पूर्ण नगरवासीले हरेक वर्ष डुबानको सास्ती ब्यहोर्नु कुनै पनि हालतमा सामाजिक न्याय हुन सक्दैन’, मेयर हमालले भने ।

धनगढी बजार क्षेत्रमा सबैजसो खोलानाला अतिक्रमणको चपेटामा छन् । अतिक्रमणले पानीको बहाव थुनिने भएकाले क्षणभरको वर्षामै धनगढी डुबानमा पर्ने गरेको छ । बर्खायाममा धनगढीका दर्जनौँ बस्ती डुबानमा पर्छन् । धनगढी मुख्य बजार क्षेत्र भएर बग्ने सुकुटी नाला, कैलाली नाला, सेतोपुल खोलालगायत सबैजसो खोलानाला अतिक्रमण गरेर घरलगायतका संरचना निर्माण गरिएका छन् ।