काठमाडौँ । आईसीसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत युनाइटेड अरब इमिरेट्स (युएई) मा हुने त्रिदेशीय शृंखलामा नेपाली राष्ट्रिय टोलीका दुई सदस्य सन्दीप लामिछाने र गुल्सन झा टिममा उपलब्ध नहुने भएका छन् । नेपाल क्रिकेट सङ्घ (क्यान) का एक अधिकारीले बताए अनुसार सन्दीपलाई अदालतले विदेश जानबाट रोक लगाएको र गुल्सन यू-१९ टिमको बन्द प्रशिक्षणमा रहेका कारण उनीहरूले युएई भ्रमण गुमाउने भएका हुन् ।
यूएईमा लिग-२ अन्तर्गतको शृंखलामा नेपालसँगै घरेलु टिम युएई र पपुवा न्यु गिनी (पिएनजी) सँग खेल्ने तालिका छ । नेपालले फेब्रुअरी २७ मा पपुवा न्यु गिनी (पिएनजी) विरुद्ध शृंखलाको पहिलो खेल खेल्नेछ ।
हाल नेपाली टिमले घरेलु मैदानमा नामिबिया र स्कटल्यान्डसँग लिग-२ अन्तर्गतकै शृङ्खला खेलिरहेको छ । शृंखलामा नेपालले तीन खेल खेल्दा सतप्रतिशत नतिजा निकालेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी शृंखलाको पहिलो खेलमा नेपालले नामिबियालाई दुई विकेटले, दोस्रो खेलमा स्कटल्यान्डविरुद्ध तीन विकेटले र तेस्रो खेलमा नामिबियाविरुद्ध पुनः तीन विकेटको जित निकालेको थियो ।
नेपालले यी तीनवटै खेलमा कीर्तिमानी लक्ष्य पूरा गरेको थियो । नेपालले पहिलो खेलमा नामिबियाविरुद्ध २८६ को, दोस्रो खेलमा स्कटल्यान्डविरुद्ध २७५ र तेस्रो खेलमा नामिबियाविरुद्ध २७५ रनकै पूरा गर्दै कीर्तिमान बनाएको थियो । यी तीन लक्ष्य एक दिवसीय क्रिकेटमा नेपालले पूरा गरेको क्रमशः पहिलो, दोस्रो र तेस्रो ठूलो योगफल हो ।