आइसिसीको नयाँ वरियतामा नेपालका खेलाडी कतिऔं स्थानमा ?

79

असोज ९,
काठमाडौं । अन्तरराष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) ले सार्वजनिक गरेको टी ट्वान्टी क्रिकेटको नयाँ वरियतामा नेपालका कप्तान पारस खड्का २७ औँ स्थानमा छन् ।आइसिसीले आज सार्वजनिक गरेको नयाँ वरियतामा कप्तान खड्कासँगै वसन्त रेग्मी र सोमपाल कामी पनि परेका छन् । नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रहेका उनी अलराउन्डरतर्फ २७ औँ स्थानमा यथावत् रहेका हुन् ।

कप्तान खड्काले ९० रेटिङ अङ्क पाएका छन् । उनी दुई महिनाअघि २५ औँ स्थानमा थिए । त्यस्तै ब्याटिङतर्फ भने कप्तान खड्का ६६ औँ स्थानमा छन् । बलिङमा नेपाली टोलीका सदस्य रेग्मी ४११ रेटिङ पाउँदै ७३ औँ स्थानमा पुगेका छन् भने कामी ३९१ रेटिङ पाउँदै ७८ औँ स्थानमा झरेका छन् । त्यस्तै अलराउण्डरतर्फ सोमपाल ६७ औँ स्थानमा यथावत् रहेका छन् । उनले ४९ रेटिङ अङ्क पाएका छन् । आइसिसीको टोलीमा टी ट्वान्टी वरियतामा नेपाल ११ औँ स्थानमा यथावत् रहेको छ भने एक दिवसीय वारियतामा नेपाल १७ औँ स्थानमा रहेको छ ।-रासस