ग्लोबल आइएमई बैंकद्वारा २५ लाख रुपैयाँ सहयोग

43

काठमाडौँ । ग्लोबल आइएमई बैंक लिमिटेडले नेपाल प्रहरीलाई ‘नेपाल प्रहरी-ग्लोबल आइएमई बैंक छात्रवृत्ति अक्षय कोष’ स्थापना गर्न बैंकको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत २५ लाख रुपैयाँ सहयोग प्रदान गरेको छ । ग्लोबल आइएमई र नेपाल प्रहरी कल्याण कोषबीच ‘नेपाल प्रहरी-ग्लोबल आइएमई बैंक छात्रवृत्ति अक्षय कोष’ स्थापना, सञ्चालन एवम् व्यवस्थापनमा सहकार्य सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएपश्चात् उक्त सहयोग रकम हस्तान्तरण गरिएको हो ।

शुक्रबार प्रहरी प्रधान कार्यालय, नक्सालमा आयोजित एक कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्यले उक्त रकमको चेक प्रहरी महानिरीक्षक धिरजप्रताप सिंहलाई हस्तान्तरण गरेका हुन् । उक्त अवसरमा बैंकको सहयोगप्रति कृतज्ञता व्यक्त गर्दै प्रहरी महानिरीक्षक सिंहले प्रहरी कर्मचारीका जेहेन्दार तथा योग्य सन्ततिलाई छात्रवृत्ति प्रदान गर्ने पुण्य कामको लागि ग्लोबल आइएमई बैंकको योगदान अमूल्य रहेको र यसले प्रहरी कर्मचारीहरूको मनोबल बढाउन थप टेवा पुग्ने उल्लेख गरे । महानिरीक्षक सिंहले बैंकले यसअघि पनि नेपाल प्रहरीलाई विभिन्न कार्यक्रममा सहयोग गरी सहकार्य गर्दै आएकोमा बैकलाई विशेष धन्यवाद दिँदै आगामी दिनमा समेत आपसी समन्वय र सहकार्यलाई निरन्तरता दिने कुरामा आफू विश्वस्त रहेको समेत बताए ।