पोखरा अन्तर्राष्ट्रिय म्याराथनमा १६ देशका धावक दौडिने

45

कास्की । पोखरामा शनिबार आयोजना गरिएको १७औँ संस्करणको सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथनमा विभिन्न १६ देशका धावकले प्रतिस्पर्धा गर्ने भएका छन् ।

नेपालसहित केन्या, इथियोपिया, सर्विया, इजिप्ट, अमेरिका, स्वीजरल्याण्ड, अष्ट्रेलिया, रसिया, फिलिपिन्स, हङकङ, फ्रान्स, बेलायत, पोल्याण्डलगायतका देशबाट धावकले नाम दर्ता गराएको म्याराथन आयोजक नेपाल भूतपूर्व खेलाडी मञ्चले जनाएको छ । म्याराथनमा सातवटै प्रदेशबाट ३७ जिल्लाका धावकले सहभागिता जनाउने छन् । पोखरा रङ्गशालामा हुने सो म्याराथनलगायतका सबै विधामा गरी हालसम्म आठ हजार जनाले नाम दर्ता गराएको मञ्चका अध्यक्ष हरिप्रसाद पराजुलीले जानकारी दिए ।

यस वर्षको खुला म्याराथनमा एक सय ५० धावक सहभागी हुने बताइएको छ । महिलातर्फको हाफ म्याराथनमा ३५ धावक उपाधिका लागि प्रतिस्पर्धा गर्ने छन् । यसैगरी १० किलोमिटर पुरुषतर्फको दौडमा एक हजार पाँच सय र महिलातर्फ छ सय जनाले नाम दर्ता गराएका छन् । पाँच किलोमिटर दौडमा ७० विद्यालयका छात्र र छात्रतर्फ क्रमशः एक हजार छ सय जना र छ सय जनाले नाम दर्ता गराएका पराजुलीले जानकारी दिए ।