काभ्रेपलाञ्चोकमा राहदानी वितरण सहज

28

काभ्रे । जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले राहदानी वितरण कार्य सहज बनाएको छ । प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलको अगुवाइमा राहदानी वितरणमा देखिएका समस्या समाधानका लागि अभियान थालिएको छ ।

राहदानी वितरण सहज गराउने कार्यको सुरुआत भएको उनले बताए । जिल्लामा कार्य सम्पादन सुरु गरेलगत्तै राहदानी लिन आउने सेवाग्राहीका लागि टोकन प्रणाली सुरु गरेको उनी बताउँछन् । सेवाग्राहीको फारम कार्यालयले नै भर्ने गरेको छ ।

लामो समयदेखि झन्झटिलो रहेको प्रक्रियालाई सरल, सहज र नागरिकमैत्री बनाउन जिल्लामा यस्तो प्रणाली लागू गरिएको प्रजिअ पौडेलको भनाइ छ । सेवाग्राही र प्रशासनबीचको दूरी घटाई कार्यमा शीघ्रता ल्याउन राहदानीबाट सुरु गरिएको यो अभियान बिस्तारै आवश्यकताअनुसार नागरिकता, राष्ट्रिय परिचयपत्रलगायत सेवामा समेत लागू गरिने उनले बताए ।