मोलुङ हाइड्रोपावरको आईपीओ आजदेखि निष्कासन

49

काठमाडौँ । मोलुङ हाइड्रोपावर कम्पनी लिमिटेडले आजदेखि सर्वसाधारणलाई प्राथमिक सेयर (आईपीओ) निष्कासन गरेको छ ।आयोजना प्रभावित क्षेत्रका बासिन्दा र वैदेशिक रोजगारीमा गएका नेपालीलाई आईपीओ निष्कासन गरी बाँडफाँड गरी सर्वसाधारणका लागि आजेदेखि आईपीओ निष्कासन गरेको हो ।

आईपीओमा आगामी फागुन १० गतेसम्म आवेदन दिन सकिनेछ । आवेदकले न्यूनतम १० कित्तादेखि अधिकतम ८ हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् । आईपीओ निष्कासन तथा बिक्री प्रबन्धक सनराइज क्यापिटल लिमिटेड रहेको छ । कम्पनीले कुल २७ लाख २८ हजार ५०० कित्ता आईपीओ निष्कासन गरेकोमा वैदेशिक रोजगारीमा गएका नेपालीलाई दुई लाख ७२ हजार ८५० कित्ता सेयर बाँडफाँड गरिसकेको छ ।

त्यस्तै, कम्पनीले सामूहिक लगानी कोषलाई एक लाख ३६ हजार ४२५ कित्ता सेयर बाँडफाँड गरेको छ भने कम्पनीमा कार्यरत कर्मचारीलाई ५४ हजार ५७० कित्ता सेयर सुरक्षित गरेको छ । बाँकी रहेको २२ लाख ६४ हजार ६५५ कित्ता सेयर भने कम्पनीले सर्वसाधारणमा सार्वजनिक गर्न लागेको हो ।

आईपीओका लागि सर्वसाधारणले नेपाल धितोपत्र बोर्डबाट सी–आस्बा सदस्यता प्राप्त गरेका सम्पूर्ण बैंक तथा वित्तीय संस्था तथा तिनका शाखा कार्यालयहरू र सिडिएस एण्ड क्लियरिङ लिमिटेड (सीडीएससी)ले तयार गरेको मेरो सेयर सम्बन्धी वेबसाइटबाट पनि आवेदन दिन सकिनेछ ।