कर्मचारी युनियनले आयोगमा बुझायो तलब सुविधा

78

काठमाडौँ । वैज्ञानिक तवरले निजामती कर्मचारीहरूको तलब सुविधा पुनरावलोकन एवं समायोजनको माग गर्दै नेपाल निजामती कर्मचारी युनियनले उच्चस्तरीय तलब सुविधा आयोगमा राय सुझाव सहितको प्रतिवेदन बुझाएको छ ।

तलब निर्धारणका आधारभूत सिद्धान्त, विश्वव्यापी मूल्यमान्यता, न्यून तलब हुँदा पर्ने नकारात्मक प्रभाव, विगतमा गठन भएका तलब आयोगहरूका प्रतिवेदनको विश्लेषण गर्दै तलब तथा सुविधाको पुनरवलोकनका लागि विभिन्न सुझाव समावेश गरी तयार गरिएको प्रतिवेदन आयोगका संयोजक लिलामणि पौडेललाई हस्तान्तरण गरिएको कर्मचारी युनियनका अध्यक्ष गोपाल पोखरेलले जानकारी दिए ।

युनियनका सचिव प्रकाश भट्टराई अनुसार तलब सुविधा पुनरावलोकनका लागि मात्र नभई राजस्व वृद्धि र सरकारको शिरोभार खर्च घटाउने उपायहरू पनि सुझाव प्रतिवेदनमा समावेश गरिएको छ ।

समान आयस्तर भएका विश्वका अन्य देश र सार्क मुलुकहरू मध्ये नेपालमा सबैभन्दा न्यून सेवा सुविधामा कर्मचारीहरू काम गरिरहेको भन्दै भट्टराईले कर्मचारीहरूको मनोबल अभिवृद्धि गरी सार्वजनिक सेवा प्रवाहलाई सुधार गर्न, सरकारले कर्मचारीको श्रमको उचित मूल्य कायम गर्नुपर्ने बताए ।

महँगी, बदलिँदो आर्थिक सामाजिक परिवेशका आधारमा कर्मचारीहरूको तलब सुविधा परिमार्जन हुन आवश्यक रहेको उनले बताए । सुझाव प्रतिवेदनमा आफूहरूले समस्या मात्र नभएर समाधानका उपायहरू पनि सुझाएको उनले बताए ।

तलब सुविधा पुनरवलोकनका सम्बन्धमा सुझाव प्रतिवेदन तयार गर्नका लागि कर्मचारी युनियनले प्रदेश, जिल्ला र विभागीय कार्यसमिति मार्फत देशभरबाट सुझाव सङ्कलन गरेको उनले बताए ।