गणतन्त्र र धर्मनिरपेक्षताको विषय अहिलेकै संविधानअनुसार टुंग्याउन सकिने: शाही

49

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले प्रचलित संविधानबाटै देशमा गणतन्त्रबारे निर्णय लिन सकिने बताएका छन्। बुधबारको प्रतिनिधिसभा बैठकमा एमाले सांसद रघुजी पन्त र माओवादी केन्द्रका सांसद शक्तिबहादुर बस्नेतको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै शाहीले अहिलेकै संविधानबाट गणतन्त्र र धर्मनिरपेक्षताका विषयलाई टुंग्याउन सकिने बताएका हुन्।

नेपालको संविधानले सार्वभौमसत्ता, भौगोलिक अखण्डता, स्वाधिनता र जनतामा निहीत सार्वभौमसत्ता प्रतिकूल हुने गरी संशोधन गर्न नसकिने व्यवस्था गरेको भन्दै उनले गणतन्त्रका विषय यही संविधान र संसदले टुंग्याउन सक्ने बताए। संविधान बनाउने क्रममा संघीयता र धर्मनिरपेक्षता चाहिने कि नचाहिने भन्दै सांसदबाट संकलन गरिएको राय किन सार्वजनिक नगरिएको भन्दै प्रश्न गरेका उनले यही संसद र संविधानबाट गणतन्त्र र धर्मनिरपेक्षता चाहिन्छ या चाहिँदैन भन्ने टुंगो लगाउन सकिने बताए। बैठकमा सांसद पन्तले प्रचण्ड नेतृत्वको सरकारले गणतन्त्र र धर्मलाई विवादमा ल्याउन खोजेको टिप्पणी गरेका थिए।