गुण्डुको फुल खेतीलाई व्यवसायीक बनाइने

249

असार १,
भक्तपुर । लामो समयदेखि फुलखेती गर्दै आएका किसानलाई व्यवसायीक बनाउन सूर्यविनायक नगरपालिकाले सहयोग गरेको छ । सूर्यविनायक नगरपालिकाको वडा नम्बर ७ गुण्डुका फुलखेती गर्ने किसानहरुलाई फुलको विरुवा वितरण गरिएको हो ।
शुक्रबार नगरप्रमुख बासुदेव थापाले किसानहरुलाई सयपत्री र मखमली फुलको विरुवा अनुदानमा वितरण गरेका छन् ।
उक्त वडामा विगत लामो समयदेखि धेरै किसानहरुले फुल खेती गर्दै आइरहेका छन् ।

नगरपालिकाको २ लाख रुपैया सहयोगमा वडाले फुलको विरुवाको नर्सरी तयारी गरेको वडा अध्यक्ष रविन्द्र सापकोटाले बताए ।
सयपत्री र मखमली जातका करिब ३४ हजार फुलका विरुवा नर्सरीमा तयार भएको र ती विरुवा वडाका २ सय ७६ किसानलाई वितरण गरिएको सापकोटाले जानकारी दिएका छन् । फुलखेती गर्ने किसानहरु जग्गाको क्षेत्रफललाई आधार बनाएर एक किसानलाई न्युनतम ६० देखि अधिकतम ५ सय वटासम्म विरुवा वितरण गरिएको हो ।

विरुवा वितरणपछि अन्य प्राविधिक सहयोग नगरपालिकाले गर्ने र बजारमा एकिकृत रुपमा बिक्र गर्न कृषक समुहहरुलाई आग्रह गरिएको वडा अध्यक्ष सापकोटाले बताए । वडा नम्बर ७ गुण्डुको विभिन्न टोलमा लामो समयदेखि व्यवसायीक फुलखेतीबाट किसानहरुले लाखौं रुपैयाँ आम्दानी गर्दै आइरहेका छन् ।