माघ २८ भित्रै चुनाव हुनुपर्छ: कांग्रेस

46

काठमाडौँ । पुस १० गते बालकोटमा भएको भनिएको प्रधानमन्त्री माओवादी केन्द्रलाई राष्ट्रपति र सभामुख एमालेलाई भन्ने सहमति कार्यान्वयन गर्न माओवादीले आनाकानी सुरु गरेसँगै कांग्रेसले माघ २८ अगावै चुनाव हुनुपर्ने अडान राख्न थालेको छ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई प्रधानमन्त्री नदिँदा धेरै गुमेको विश्लेषण गर्दै कांग्रेसले पुस २६ गते विश्वासको मत दिएर दाहाललाई आफूतिर तान्ने प्रयास गरिरहेको छ। दाहालले कांग्रेसलाई विश्वासको मत दिए राष्ट्रपतिमा उसको उम्मेदवारलाई सहयोग गर्न सकिने आश्वासन दिएको टिप्पणी राजनीतिक वृत्तमा हुँदै आएको छ।

विश्वासको मत लिएर संसद भवनबाट फर्किने क्रममा प्रधानमन्त्री दाहालले माओवादीसँग त्यस्तो कुनै सहमति नभएको दावी गरेका थिए। तर राजनीतिक घटनाक्रमले दाहालले कांग्रेसलाई आश्वासन दिएको अनुमान लगाउने ठाउँ बन्दै गएको छ। माओवादीको बिहीबार र शुक्रबार बसेको स्थायी कमिटि बैठकले राष्ट्रपतिमा राष्ट्रिय सहमति हुनुपर्ने निर्णय गरेर सहज रूपमा एमालकोे उम्मेदवारलाई सहयोग नगर्ने लाइन लिएको छ।

शुक्रबार बैठकपछि माओवादी प्रवक्ता कृष्णबहादुर महराले भनेका थिए,  ‘बैठकले राष्ट्रपतिमा राष्ट्रिय सहमति खोज्ने निर्णय गरेको छ। त्यो भनेको एमालेसहितको राष्ट्रिय सहमति हो। हामीले राष्ट्रिय सहमति खोजेर एमालेलाई धोका दिन खोजेको होइन।’