आफ्नै ट्याङ्कर चलाउन पाउनुपर्ने: ट्याङ्कर चालकहरुको माग

34

काठमाडाैँ । नेपाल पेट्रोलियम ट्याङ्कर चालक संघले चालकहरूले आफ्नै पेट्रोलियम ट्याङ्कर चलाउन पाउनुपर्ने माग राखेको छ। शुक्रबार काठमाडौँमा आयोजित नेपाल पेट्रोलियम ट्याङ्कर चालक संघको दोस्रो राष्ट्रिय महाधिवेशन समुद्घाटन समारोहमा बोल्दै नेपाल पेट्रोलियम ट्याङ्कर चालक संघका अध्यक्ष ईश्वर लामाले चालकहरूले आफ्नै ट्याङ्कर चलाउन पाउनुपर्ने बताए।

उनले सधैँ परनिर्भर हुनुभन्दा आफूहरूको भविष्यको लागि आत्मनिर्भर हनुपर्ने भएकाले आफ्नै ट्याङ्कर चलाउन पाउनुपर्ने आफूहरूको माग गरेको उनले बताए। ‍उनले देशभर १ हजार ९०० जना पेट्रोलियम ढुवानी गर्ने चालकह‍रू रहेको उल्लेख गर्दै उनीहरूको भूमिका महत्वपूर्ण रहेको बताएका हुन्। अध्यक्ष लामाले एकपटक चालकहरुका लागि कन्ट्याक्ट नामसारी खुलाइदिन पनि माग गरे। उनले आफूहरूको माग सुनुवाई नभएमा ३० दिनभित्र ट्याङ्करको साँचो हस्तान्तरण गरेर आन्दोलनमा उत्रिने चेतावनी दिए।

नेपाल आयल निगम लिमिटेडका कार्यकारी निर्देशक उमेशप्रसाद थानीले ट्याङ्कर चालकहरुको माग सम्बोधन गर्नका लागि विद्यमान ऐन, कानूनहरुमा संशोधन गर्न आवश्यक रहेको बताए। उनले विनियमावलीमा भएका केही व्यवस्थाहरूसमेत परिमार्जन गर्नुपर्ने अवस्था रहेकाले सम्बन्धित निकायहरूले आ-आफ्नो ठाउँबाट पहल गर्नुपर्ने बताए।