Monday, September 28, 2026
Home राजनीति गृहमन्त्री लामिछानेविरुद्धको मुद्दामाथि सुनुवाइ जारी

गृहमन्त्री लामिछानेविरुद्धको मुद्दामाथि सुनुवाइ जारी

37

काठमाडौँ । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको नागरिकताको वैधतामा प्रश्न उठाएर दायर रिटमाथि सर्वोच्च अदालतमा सुनुवाइ भइरहेको छ।

नागरिकताको वैधतामा प्रश्न उठाउँदै लामिछानेको प्रतिनिधिसभा सदस्य खारेजीको माग गर्दै अधिवक्ता रबिराज बसौला समेत र अधिवक्ता युवराज पौडेलसमेतले दायर गरेको दुई वटा छुट्टाछुट्टै रिटमाथि बुधबार संयुक्त रुपमा संवैधानिक इजलासमा सुनुवाइ भइरहेको हो।

कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की, न्यायाधीशहरू  विश्वम्भर प्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा, आनन्दमोहन भट्टराई र अनिल कुमार सिन्हा सहभागी संवैधानिक इजलासमा गृहमन्त्री लामिछाने विपक्षी बनाइएको मुद्दामाथि सुनुवाइ भइरहेको हो।

लामिछानेविरुद्धको मुद्दामाथिको सुनुवाइका लागि गठित इजलासमा बुधबार विश्वम्भर प्रसाद श्रेष्ठ थपिएका छन् भने प्रकाशमानसिंह राउतलाई हटाइएको छ। गत २२ पुसको सुनुवाइमा श्रेष्ठ बिदामा थिए।

अमेरिकाको नागरिकता त्यागेर पुनः नेपाली नागरिकता नलिई खारेज भएकै नागरिकताबाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनेकाले उनको सांसद पद खारेजीसहितको माग गर्दै गत २८ मंसिरमा लामिछानेविरुद्ध रिट दर्ता गरिएको थियो।