एक लाख ४६ हजारबढी सवारी साधन कारबाहीमा

45

वीरगञ्ज । मधेस प्रदेशमा चालु आर्थिक वर्ष २०७९-८० को छ महिनामा एक लाख ४६ हजारभन्दा बढी सवारी साधन कारबाहीमा परेका छन् ।  सवारी दुर्घटना न्यूनीकरण गर्न प्रदेशका जिल्लामा विशेष अभियान चलाएको ट्राफिक प्रहरीले विभिन्न कसुरमा एक लाख ४६ हजार एक सय ८० वटा सवारी साधनमाथि कारबाही गरेको हो ।

सवारी साधनमाथिको कारबाहीबाट रू १० करोड ७७ लाख १५ हजार पाँच सय राजस्व संकलन भएको मधेस प्रदेश ट्राफिक कार्यालय पथलैया बाराले जानकारी दिएको छ । ट्राफिक प्रहरीले हाल राजमार्गमा जडान गरिएको सिसिटिभी र राडर स्पिड गनबाट सवारी साधनको गति निगरानी गरिरहेको छ । कार्यालय पथलैया बाराका अनुसार तीव्र गतिमा चलाइएको कार-जिप दुई हजार ६ सय ६४ वटा सवारी साधन कारबाहीमा परेका छन् । 

साथै यात्रुबाहक बस, मिनिबस र सुमो आठ सय २१ वटा, मोटरसाइकल तीन सय ४९ वटा र मालबाहक ट्रिपर, ट्रक र ट्र्याक्टर तीन सय २५ वटा गरी चार हजार एक सय ४९ वटा सवारी साधनमाथि कारबाहीमा परेको कार्यालय प्रमुख प्रहरी उपरीक्षक सन्तोषकुमार भट्टराईले जानकारी दिए । क्षमताभन्दा बढी यात्रु बोक्ने, तीव्र गतिमा सवारी चलाउने, बिना हेलमेट र तीन जना सवार भइ मोटरसाइकल चलाउने प्रवृत्ति बढेकाले राजमार्ग तथा अन्य सहायकमार्गमा सवारी चेकजाँच कडाइ गरिएको उनको भनाइ छ ।