भारतीयलाई नेपाली नागरिकता दिने वडाध्यक्षसहित ५ जनालाई पक्राउ

34

काठमाडौँ । भारतीयलाई नेपाली नागरिकता बनाउन सिफारिस गर्नेदेखि स्थलगत वस्तुस्थिति (सर्जमिन)मा बसेका वडाध्यक्षसहित पाँचजनालाई पक्राउ गर्न आदेश जारी भएको छ । सप्तरी जिल्ला अदालतले नागरिकता सिफारिस गर्ने डाक्नेश्वरी नगरपालिका-३ का वडाध्यक्ष भागेश्वर यादव र सर्जमिनमा बसेकाहरूलाई पक्राउ गर्न आदेश जारी गरेको हो ।

केही वर्षदेखि मामाघर डाक्नेश्वरी बस्दै आएका भारत बिहार राज्यको मधुवनी जिल्लास्थित फुलपरासनिवासी धीरे मुखियालाई नागरिकता बनाइदिन गत ८ पुसमा फुलियादेवी मुखियाले वडा कार्यालयको सिफारिस र सर्जमिनसहित इलाका प्रशासन कार्यालय बोदेबरसाइन पुगेकी थिइन् । नागरिकता प्रक्रिया अघि बढ्नै लाग्दा शङ्का लागेर सोधपुछ गरेपछि दुवै जनालाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।

पक्राउ परेका दुवैजनामाथि थप अनुसन्धान गर्न गत पुस ११ गते जिल्ला अदालतले नागरिकतासम्बन्धी कसुरमा सात दिन म्याद थप गरेको थियो । अनुसन्धानकै क्रममा पक्राउ परेका दुवैलाई शुक्रबार पुर्पक्षका लागि कारागार पठाइएको छ भने वडाध्यक्ष यादवसहितलाई पक्राउ गर्न आदेश जारी भएको इलाका प्रहरी कार्यालय कडरबोनाका प्रहरी निरीक्षक बालिश्टर सिंहले जानकारी दिए ।

स्रोतका अनुसार जनप्रतिनिधिले नै आर्थिक प्रलोभनमा परेर भारतीयलाई नागरिकता दिलाउन सिफारिसदेखि सर्जमिनसम्म उपलब्ध गराएका हुन् ।

वडाध्यक्ष र सर्जमिनमा बसेकाहरू हाल फरार छन् ।