माघ १० गतेपछि मात्रै बागमतीमा सरकार विस्तार हुने

163

हेटौँडा । माघ १० पछिमात्रै बागमती प्रदेश सरकारको मन्त्रिपरिषद् विस्तार हुने भएको छ । पुस २५ गते मुख्यमन्त्री नियुक्त भएर पुस २६ मा ३ सदस्यीय मन्त्रीमण्डल निर्माण गरेका शालिकराम जम्मकट्टेलले सरकार विस्तार माघ १० पछि मात्र गर्ने भएका हुन् । पहिलो निर्णय नै यहाँ रहेका १४ वटा मन्त्रालयलाई घटाएर घटीमा ९ र बढीमा ११ वटा बनाउने तयारी बागमती प्रदेश सरकारको रहेको छ ।

११ मन्त्रालय हुँदाको अवस्थामा एमालेले सभामुख र मुख्यमन्त्री छाडेको भन्दै कम्तीमा पाँच मन्त्रालयको दाबी गरेको छ । माओवादी पनि कम्तीमा ४ मन्त्रालय आफ्नो भागमा रहनुपर्ने अडान राखेको छ । राप्रपाले ३, एकीकृत समाजवादीले २ तथा हाम्रो नेपाली पार्टीले १ मन्त्रालयमा दाबी गरेको छ । यसो हुँदा १५ मन्त्रालय हुन आउँछ । तर बढीमा ११ मन्त्रालय मात्र हुने भएपछि दलहरूले आफ्नो दाबीलाई घटाउनुपर्ने बाध्यता सृजना भएको छ ।

११ मन्त्रालय हुने करिब निश्चित भएपछि अब एमालेले बढीमा ४, माओवादीले ३, राप्रपाले २ तथा एकीकृत समाजवादी र हाम्रो नेपाली पार्टीले १–१ मन्त्रालयमा चित्त बुझाउनुपर्ने देखिएको छ ।