बीबीएस चौथो वर्षको उत्तरपुस्तिका हरायाे, एक वर्षपछि पुनः परीक्षा हुने

63

काठमाडौं । त्रिभुवन विश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यलयले चार वर्षे बीबीएस कार्यक्रमको चौथो वर्षको ‘बिज्नेस रिसर्च मेथड्स’ विषयको परीक्षा एक वर्षपछि शनिबार (भोलि) पुनः लिने भएको छ । यो विषयको परीक्षा २०७८ साल पुस २७ गते पनिकाले लिएको थियो ।

क्याम्पसले सिम्बोल नम्बर ७०२०२०००१ देखि ७०२०२०२५२ सम्म सनिबार बिहान ८ बजेदेखि परीक्षा हुने भएकोले परीक्षामा सहभागी हुन भनेर मोबाईलमा मेसेज पठाएको विद्यार्थीहरु बताउँछन् ।

मेसेज आएपछि क्याम्पसमा फोन गरेर बुझ्दा उत्तरपुस्तिका हराएकोले पुनः परीक्षा लिन लागेको भन्ने जवाफ पाएको एक विद्यार्थी बताउँछिन् । उनी भन्छिन् ‘नतिजा आउन ढिला भएर तनाव भईरहेको बेला फेरि दिनुपर्ने भन्दा कस्तो होला । उनीहरुको लापरबाहीको सजाय हामीले भोग्नुपर्ने कस्तो अन्याय हो ।’

परीक्षा नियन्त्रण कार्यलयले झापाको दमक बहुमुखी क्याम्पसको विद्यार्थीको मात्रै लिने जनाएको छ । सह-परीक्षा नियन्त्रक डा.घनश्याम ठाकुरले झापाको एक क्याम्पसको मात्रै समस्या भएर लिन लागेको बताए । उनले भने ‘त्यहाँको क्याम्पसको समस्या भएर लिन लागिएको हो ।’ किन र कस्तो समस्या भएको हो भन्ने चाँहि उनले खुलाउन चाहेनन् ।