फरार वडाध्यक्ष दुई वर्षपछि पक्राउ

129

काठमाडौँ । सप्तरीमा नागरिकता, छाप र सरकारी कागजात किर्ते गरी सामाजिक सुरक्षा भत्ताबाट एक करोडभन्दा बढी रुपैयाँ अपचलन गरेको मुद्दामा दुई वर्षदेखि फरार एक वडाध्यक्ष पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा जिल्लाको डाक्नेश्वरी नगरपालिका-२ का वडाध्यक्ष रहमान मियाँ छन्। मियाँलाई बिहीबार बिहान पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायव उपरीक्षक नरेशकुमार सिंहले जानकारी दिए।

दुई वर्षअघि उच्च अदालत जनकपुर, राजविराज इजलासमा दर्ता भएको मुद्दाअनुसार अघिल्लो पटक पनि वडाध्यक्ष रहेको बेला मियाँसहितका व्यक्तिले झण्डै ९० जनाको नाममा सरकारी कागजात, छाप र नागरिकतासम्म किर्ते गरी आर्थिक वर्ष ०७४/०७५, ०७५/०७६ र ०७६/०७७ सम्म सामाजिक सुरक्षा भत्ता निकासा गरी अपचलन गरेका छन् भने उमेर नपुगेका भएपनि किर्ते जालसाजी गरी आफ्ना आसेपासेलाई सामाजिक सुरक्षा भत्ता खुवाएका छन्। पक्राउ गरिएका वडाध्यक्ष मियाँलाई अदालतमा हाजिर गराइएको प्रहरी नायव उपरीक्षक सिंहले बताए।