बिहे भएको भोलिपल्टै ३५ लाख जरिवाना

183

चैत ६,
झापा । कसका बुबा आमाले सोचेको हुन्छ, छोराको विवाह गर्दा ३५ लाख रुपैयाँ जरिवाना तिर्नुपर्छ भनेर तर, झापामा भइदियो यस्तै। दश महिनाअघि टीकाटालो गरेर गत फागुन २० गते धुमधामका साथ विवाह गरेका बुद्धशान्ति गाउँपालिका–१ का २९ वर्षीय राकेश रेग्मी विवाहको भोलिपल्टै बेहुली छाडेर फरार भएपछि उनका बुबा लालप्रसाद रेग्मीले बेहुली फिर्ता गर्दै ३५ लाख रुपैयाँ जरिवाना तिरेका छन्। बुद्धशान्ति गाउँपालिकाको न्यायिक इजलासमा दुई दिनसम्म भएको बहसपछि रेग्मीले बेहुलीका लागि भरणपोषण र पढाइ खर्चबापत सो रकम दिने सहमति भएको गाउँपालिकाका उपाध्यक्ष मीरा भुर्तेलले बताइन्। राकेशले सोही ठाउँकी २१ वर्षीया युवतीसँग सामाजिक परम्पराअनुसार विवाह गरेका थिए। विवाहको भोलिपल्ट बेहुला र बेहुलीका आमाबुबाबीच सम्धी ढोगभेट कार्यक्रम पनि भयो। सम्धी ढोगभेट सकिएपछि राकेश बेहुली छाडेर बेपत्ता भएका थिए। भारत गएर बसेका राकेशलाई केही दिनपछि आफन्तको सहयोगमा झापा ल्याइएको थियो। झापा ल्याएलगत्तै उनी अहिले धुलाबारी इलाका प्रहरी कार्यालयको हिरासतमा छन्। हिरासतमा रहेका राकेशमा शारीरिक समस्या रहेकाले बेहुली छाडेर भागेको बताउँदै उनका बुबा लालप्रसादले गाउँपालिकाको न्यायिक इजलासमा भने, ‘छोरामा शारीरिक समस्या रहेछ। हामीलाई थाहा भएन। बेहुलीको भविष्य नबिग्रियोस्, म उनको भरणपोषण र पढाइ खर्चका लागि ३५ लाख रुपैयाँ दिन्छु।’ सँगै बाच्ने सँगै मर्ने बाचा गरेर लगनगाँठो कसेका रेग्मीले किशोरीको अस्मितामाथि गम्भीर खेलबाड गर्दै महिला हिंसा गरेको भन्दै छलफलमा सहभागी अधिकारकर्मीले रेग्मी परिवारको आलोचना गरेका थिए। आइतबार र सोमबार भएको बहसमा बेहुलीको भरणपोषण तथा शिक्षाका लागि उक्त रकम बेहुला पक्षले दिने लिखित सहमति भए पनि जग्गेमा सातफेरी घुमेर लगनगाँठो कसेको सम्बन्धलाई कसरी टुंग्याउने भन्ने निष्कर्षमा भने पुग्न बाँकी रहेको गाउँपालिका उपाध्यक्ष भुर्तेलले बताइन्। त्यसका लागि पुनः दुई पक्षबीच छलफल हुने बताइएको छ। स्रोतका अनुसार बेहुलीले सिन्दूर पोते फिर्ता गरेर लगनगाँठोले कसेको सम्बन्ध तोड्ने तयारी भएको छ। यता विवाहमा लागेको खर्च बेहुला र बेहुली दुवै पक्षले आ–आफैं व्यहोर्ने, बेहुली पक्षले बेहुला पक्षलाई दिएको सबै उपहार फिर्ता गर्ने र बेहुलाले बेहुलीलाई दिएको उपहार पनि फिर्ता गर्ने निर्णय भएको छ। केटी भरणपोषणका लागि दिने भनेको ३५ लाख ३५ रुपैयाँ दिनभित्र दिने सहमति भएको बताइएको छ। गत फागुन २० गते विवाह गरेका राकेश विवाहलगत्तै २१ गते बेहुली छाडेर बेपत्ता भएका थिए। राकेश आफूमा यौन समस्या भएको भन्दै फरार भएका थिए।