पोखराका पर्यटन व्यवसायी उत्साहित

141

पोखरा । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएसँगै पोखराका पर्यटन व्यवसायी पनि निकै उत्साहित भएका छन् ।

नेपाल पर्यटन बोर्डका पूर्व कार्यकारी सदस्य एवं अग्रज पर्यटन व्यवसायी वासु त्रिपाठीले पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल सारा पोखरेलीको साझा सपना पूरा हुँदा निकै खुसी लागेको बताए। उनले भने, ‘विसं २०३२ मा तत्कालीन अञ्चलाधीश डा शंकरराज पाठकले पोखरामा अन्तर्राष्ट्रिय विमानस्थलको परिकल्पना गरेका थिए । उनको ऊर्जाशील क्षमताले तत्कालीन समयमा जग्गा अधिग्रहण सम्भव भयो, निरन्तरका प्रयासपछि आज पोखरेलीको सपना पूरा भयो’, उनले भने । विमानस्थल सञ्चालनमा आएसँगै पोखरामा विशेष गरी भारतीय धार्मिक पर्यटकको आगमन बढाउन सहयोगी हुने उनको विश्वास छ । साथै गण्डकी प्रदेश र समग्र नेपालको पर्यटनका साथै आर्थिक, सामाजिक क्षेत्रमा सकारात्मक प्रभाव पार्ने उनको भनाइ छ । अन्तर्राष्ट्रिय विमानस्थल निर्माण पोखरावासीको विकासप्रतिको एकीकृत धारणाले मात्र सम्भव भएको उनको बुझाइ छ ।

पोखरा क्षेत्रीय विमानस्थल निर्माण सरोकार समितिले २०६८ चैत ११ मा विज्ञप्ति जारी गरी सङ्घर्षको आन्दोलन सुरु गरेको थियो । आन्दोलनमा एक सय ५१ श्रृखङ्लासम्म दुई हजार चार सय दुई जनाले रिले अनसन बसेका थिए । सो समयमा आफूलगायतका केही व्यक्तिले आमरण अनशन बस्न तयार भएको भन्दै नामसमेत लेखाएको त्रिपाठीले स्मरण गरे । तत्कालीन समयमा पाँच सय वटा कारले काठमाडौँसम्म दबाबमूलक यात्रा गरेर नेपाल नागरिक उड्डयन प्राधिकरण घेरा हालेको अनुभव पनि उनीसँग छ । आधुनिक पोखरासँगै यसको निर्माणमा पूर्वपर्यटन मन्त्री स्व रवीन्द्र अधिकारीको योगदान बिर्सन नहुने त्रिपाठीको भनाइ छ ।