जनतालाई शीतलहरबाट जोगाउन: गृहमन्त्रीको निर्देशन

30

काठमाडौं । उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेले जनताको गुनासो नआउने ढंगले सेवा प्रवाह गर्न प्रमुख जिल्ला अधिकारी (सीडीओ)हरुलाई निर्देशन दिएका छन् । उनले शीतलहर, जाडो जस्ता प्राकृतिक प्रकोपबाट जनतालाई जोगाउने योजना बनाएर काम गर्न पनि निर्देशन दिए ।

देशभरका प्रमुख जिल्ला अधिकारीहरुलाई सम्बोधनको क्रममा उनले भने, ‘विपदका समयमा प्रत्यक्ष उपस्थिति र प्रभावकारी सञ्चारले ठूलो महत्त्व राख्छ । शीतलहरबाट कुनै नागरिकले क्षति व्यहोर्नु नपरोस् भन्ने विषयलाई हृदयंगम गरी आवश्यक पूर्व तयारी एवं प्रतिकार्यका लागि तयार होऔं ।’

मन्त्री लामिछानेले आज ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुलाई भर्चुअल माध्यमबाट सम्बोधन गरेका थिए । सोही क्रममा मन्त्री लामिछानेले गुनासोरहित सेवा प्रवाहमा ध्यान दिन, नागरिकका समस्या सुन्दा र समाधानको पहल गर्दा समभाव सहित गर्न निर्देशन दिएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायले जानकारी दिए ।

प्रजिअ उपाध्यायका अनुसार मन्त्री लामिछानेले सुरक्षा व्यवस्था चुस्त दुरुस्त राख्न र राजश्व चुहावट नियन्त्रणमा पनि ध्यान दिन निर्देशन दिएका छन् । ‘राजस्व चुहावट नियन्त्रण गर्न निर्मम हुनुहोस् । कुनै पनि तस्कर, विचौलिया वा अवैध निकासी पैठारीकर्ताले कुनै खाले संरक्षण पाउने छैन भन्ने कुरामा विश्वस्त हुनुहोस्,’ मन्त्री लामिछानेले भनेका थिए ।