Sunday, September 27, 2026
Home राजनीति नेपालको ऊर्जा क्षेत्रमा थप लगानी गर्न मन्त्री पुनको आग्रह

नेपालको ऊर्जा क्षेत्रमा थप लगानी गर्न मन्त्री पुनको आग्रह

79

काठमाडौँ, १० माघ
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले ऊर्जा तथा जलस्रोतको क्षेत्रमा थप लगानी गर्न जापान सरकारलाई आग्रह गर्नुभएको छ ।

नेपालको भ्रमणमा रहेको जापानको कृषि तथा वन मन्त्रालयका अन्तर्राष्ट्रिय मामिला हेर्ने उपनिर्देशक ताकामी नाकादाको नेतृत्वको प्रतिनिधिमण्डलसँग आज मन्त्रालयमा भएको भेटमा मन्त्री पुनले विभिन्न आयोजनमा जापानले गर्दै आएको प्राविधिक र आर्थिक सहयोगप्रति धन्यवाद ज्ञापन गर्दै आगामी दिनमा पनि थप सहयोग प्राप्त हुने विश्वास व्यक्त गर्नुभयो ।

भेटमा मन्त्री पुनले जापान नेपालको पुरानो विकास साझेदार मुलुक भएको भन्दै नेपालको विकासमा जापानले गर्दै आएको सहयोगप्रति धन्यवाद ज्ञापन गर्नुभएको उहाँको सचिवालयले जनाएको छ ।

नेपालको कृषि क्षेत्रको विकासका लागि सिँचाइको महत्वपूर्ण भूमिका हुने भन्दै मन्त्री पुनले त्यसका लागि सरकारले भेरी बबई, रानी जमरालगायतका केही ठूला आयोजना अघि बढाइरहेको जानकारी दिनुभयो ।

मन्त्री पुनले जलउत्पन्न प्रकोप नियन्त्रण केन्द्र स्थापना गर्न जापानले सहयोग गरेको जानकारी दिँदै सिँचाइ र ऊर्जा क्षेत्रको अध्ययन अनुसन्धानमा आगामी दिनमा समेत सहयोग प्राप्त हुने विश्वास व्यक्त गर्नुभयो ।

अन्तर्राष्ट्रिय मामिला हेर्ने उपनिर्देशक ताकामीले जापानले नेपाललाई आर्थिक र प्राविधिक सहयोग गर्दै आएको जानकारी दिँदै आगामी दिनमा अझै सहयोग गर्न जापान सरकार तयार रहेको बताउनुभयो ।

“नेपालमा के कस्ता सम्भावना छन्, हामी त्यसको अध्ययन, अनुसन्धानको लागि अहिले नेपालको भ्रमणमा आएका छौँ, जापानको निजी क्षेत्र पनि यहाँ लगानी गर्न इच्छुक छ”, उपमहानिर्देशक ताकामीले भन्नुभयो । -रासस