माघ २ गते सभामुख चयन गर्ने सर्वदलीय बैठकको निर्णय

26

धनगढी । सुदूरपश्चिममा अगामी माघ २ गते सभामुख चयन गर्ने सहमति भएको छ । आइतबार ज्येष्ठ सदस्य मानबहादुर रावलको अध्यक्षतामा प्रदेशसभा सचिवालयमा बसेको बैठकले माघ २ गते सभामुख चयन गर्ने निर्णय गरेको हो ।

प्रदेशसभा सचिवालयका सूचना अधिकारी युवराज जैशीले सोमबार दिउँसो १ बजे बस्ने प्रदेशसभाको पहिलो बैठकमा सभामुख निर्वाचन सम्बन्धी कार्यतालिका प्रस्तुत गर्ने र २ गते निर्वाचन गर्ने सर्वदलीय बैठकले निर्णय गरेको जानकारी दिए ।

उनकाअनुसार सभामुखका लागि एक जनाको उम्मेदवारी परेको बाहेकको अवस्थामा मतदान हुनेछ । सबैभन्दा बढी मत पाउने प्रदेशसभा सदस्य सभामुखमा निर्वाचित हुनेछन् ।

सर्वदलीय बैठकले प्रदेशसभा सञ्चालन सम्बन्धी नियमावलीमा केही संशोधन गर्ने निर्णय गर्दै ज्येष्ठ सदस्यको अध्यक्षतामा ५ सदस्यीय अध्यक्षता मण्डल चयन समेत गरेको छ । पहिलो बैठकमा प्रदेशसभामा प्रतिनधित्व गर्ने सबै राजनीतिक दलका तर्फबाट संसदीय दलका नेताले शुभकामना मनतव्य राख्ने कार्य सूची समेत बैठकले तय गरेको छ ।