४४४ महिला\बालबालिका सम्पर्कविहीन

28

काठमाडौँ । रोजगारीका लागि विभिन्न मुलुक पुगेका पश्चिम नेपालका चार सय ४४ महिला तथा बालबालिका सम्पर्कविहीन भएका छन् ।

सन् २०२२ मा माइती नेपाल नेपालगञ्ज शाखामा खोजतलासका लागि परेको निवेदनका आधारमा चार सय ४४ महिला तथा बालबालिका सम्पर्कविहीन रहेको पाइएको संयोजक केशव कोइरालाले जानकारी दिए ।

उनका अनुसार बितेको एक वर्षमा यहाँ खोजतलासका लागि छ सय ९३ निवेदन परेकामा दुई सय ४९ जना मात्र फेला परेका छन् । भारत तथा तेस्रो मुलुकमा पुगेर घर परिवारको सम्पर्कमा नरहेका व्यक्तिका आफन्तले माइती नेपालमा खोजतलास तथा उद्धारका लागि निवेदन दिएका थिए ।

सो अवधिमा जोखिमपूर्ण यात्रामा रहेका पाँच सय २९ जनालाई नेपालगञ्ज नाकाबाट फिर्ता पठाएकामा गत वर्ष चार सय ३४ जनालाई फिर्ता पठाइएको थियो । घरपरिवारसँगको सल्लाह बिना रोजगारी, विवाह वा घुम्न जाने बहानामा यहाँको नाकाबाट भारततर्फ जान लागेका उनीहरूलाई फिर्ता पठाइएको उनको भनाइ थियो ।

उक्त नाका भएर जोखिमपूर्ण यात्रा गर्ने सबैभन्दा बढी सुर्खेतका रहेको पाइएको छ । सन् २०२२ मा सबैभन्दा बढी सुर्खेतका ८६ र बाँकेका ८२ जनाले जोखिमपूर्ण यात्रा गरेका थिए । सामाजिक सञ्जालको सुझबुझपूर्ण प्रयोग नहुँदा पछिल्लो समयमा मानव बेचबिखन तथा ओसारपसारको जोखिम बढेको संयोजक कोइरालाले बताए ।