नेपालीहरूले चलाए ‘नो रेमिट्यान्स’ अभियान

140

काठमाडौँ । सरकारले विदेशबाट मोबाइल ल्याउन गरेको कडाइको विरोधमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले ‘नो रेमिट्यान्स’ अभियान चलाएका छन् । उनीहरुले रेमिट्यान्सबाट पैसा पठाउन रोक्ने भन्दै सामाजिक सञ्जालमा ‘नो रेमिट्यान्स’ अभियान चलाएका हुन् ।

अहिले यो ह्यासट्याग ट्रेन्डिङमा देखिन्छ । अर्थतन्त्र थला परेको बेला ‘नो रेमिट्यान्स’ अभियान चलाइएकोमा धेरैजसोले दुःख व्यक्त गर्दै सामाजिक सन्जालमार्फत् नै सरकारको ध्यानाकर्षण गराएका थिए ।

नेपाल दूरसञ्चार प्राधिकरणले एमडिएमएस प्रणाली लागू गर्दै भन्सार छलेर ल्याइएका मोबाइल फोनहरू आजबाट नेपालमा नचल्ने व्यवस्था गरेको छ । यो व्यवस्था अनुसार विदेशबाट फर्किने क्रममा कसैले उपहारको रूपमा एकभन्दा बढी (दोस्रो) मोबाइल फोन ल्याएमा १८ प्रतिशत भन्सार लाग्ने र तेस्रो मोबाइल जफत नै गर्ने निर्णय सरकारले गरेको छ । यसैको विरोधमा विदेशमा बसेका नेपालीहरूले ‘नो रेमिट्यान्स’ ह्यासट्याग प्रयोग गर्दै विभिन्न स्ट्याटस राखिरहेका छन् ।

यसैबीच विदेशबाट फर्किएका नेपालीलाई मोबाइल ल्याउन गरिएको कडाइ तत्काललाई कार्यान्वयन नगर्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अर्थमन्त्रीलाई निर्देशन दिएका छन् ।