लुम्बिनी अल स्टारको लगातार तेस्रो जित

36

काठमाडौँ । रोमाञ्चक खेलमा पोखरा एभेन्जर्सलाई तीन विकेटले पराजित गर्दै नेपाल टी-२० लिगमा लुम्बिनी अल स्टारले लगातार तेस्रो जित निकालेको छ । पोखराको यो लगातार तेस्रो हार हो ।

मङ्गलवार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा पोखराले प्रस्तुत गरेको १३४ रनको लक्ष्य लुम्बिनीले निर्धारित २० ओभरमा सात विकेट गुमाएर पूरा गर्‍यो । लुम्बिनीलाई जितका लागि अन्तिम बलमा पाँच रन आवश्यक हुँदा स्ट्राइकमा रहेका साड्ले भान स्कल्कवेकले छक्का प्रहार गरेका थिए ।

आक्रामक रूपमा प्रस्तुत भएका स्कल्कवेकले ११ बलमा चार छक्कासहित अविजित ३१ रन जोडे । स्कल्कवेकबाहेक कुशल भुर्तेल ३९, उन्मुक्त चन्दले २२ र अनिल साह १९ रनको योगदान गरे । पोखराका कुशल मल्लले दुई र विपीन कार्कीले समान दुई विकेट लिए । प्रतिश जिसी, अभिमन्यु मिथुन र जहिर खानले समान एक विकेट लिए ।

यसअघि, टस हारेपछि ब्याटिङको निम्तो पाएको पोखरा एभेन्जर्सले निर्धारित २० ओभरमा नौ विकेट गुमाएर १३३ रन बनाएको थियो । पोखराबाट आक्रामक ब्याटिङ गरेका कुशल मल्लले ६१ रन बनाएका थिए । उनले ३१ बलमा पाँच चौका र पाँच छक्का प्रहार गरे । उपुल थरंगाले ४२ रन बनाउनुबाहेक अरू ब्याटरले दोहोरो अङ्कमा रन जोड्न सकेनन् ।