भक्तपुरमा एमालेको निर्वाचन परिचालन कमिटीमा बसेर कांग्रेसलाई भोट मागेपछि….

232

भक्तपुर । नेकपा एमाले भक्तपुर जिल्ला कमिटीका अध्यक्ष बचन देउजाले पार्टीभित्र गम्भिर समिक्षा गर्नु पर्ने समय आएको बताएका छन् । पार्टी निकट राष्ट्रिय उद्योग व्यवसाय महासंघ भक्तपुर जिल्ला कमिटीले आयोजना गरेको बागमती प्रदेशका निर्वाचित सांसदहरुलाई सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै देउजाले भने ‘स्थानीय चुनावदेखिनै पार्टीभित्र विकृति मौलाएको छ ।’ स्थानीय निर्वाचनमा कतिपय नगरमा मेयर हार्ने उपमेयर जित्ने वडाअध्यक्ष हार्ने अरु सदस्य जित्ने कुराको असर संघ र प्रदेश सभाको निर्वाचनसम्म आउदाँ समेत देखिएको उनको भनाई छ । पार्टीले समय अनुसार उम्मेवार चयन गर्न नसक्दापनि स्थानीय निर्वाचनमा केही स्थानमा हार भोग्नु परेको एमाले अध्यक्ष देउजाको भनाई छ ।

‘पार्टीको संस्थागत पद्धति भन्दापनि व्यक्तिगत प्रवृत्तिको कारणले गर्दा भक्तपुरमा एमालेको संगठन कमजोर हुन थालेको छ,’ अध्यक्ष देउजाले भने । आफु टिकट पाए हुने अरुले पाउदाँ असहयोग गर्नेहरुको कारण पार्टीमा समस्या देखिएकाले गम्भिर भएर सोच्ने बेला आएको उनले बताए । कतिपय ठाउँमा व्यक्ति चयन गलत हुदाँ पार्टी पराजित हुन पुगेको उनको भनाई । भक्तपुरमा एमालेको निर्वाचन परिचालन कमिटीमा बसेर कांग्रेसका उम्मेदवारलाई भोट माग्नेहरुलाई वडातहदेखि नै कारवाही गर्नु पर्ने उनको भनाई छ । २०७४ सालको विरासत कायम हुन नसक्नुमा तपाई हामी सबै दोषि छौ, अर्कालाई देखाएर पन्छिने भन्दापनि आफ्नो कमजोरीमा सुधार गर्न उनले अनुरोध समेत गरे ।

राष्ट्रिय उद्योग व्यवसाय महासंघ भक्तपुर जिल्ला कमिटीले बागमती प्रदेशका सांसदद्धय किरण थापा मगर र शकुन्ताला श्रेष्ठलाई सम्मान गरेको छ । सो कमिटीका उपाध्यक्ष विश्वराम त्वानाबासु जिल्ला समन्वय समितिको सदस्य भएकोमा सम्मान गरेको अध्यक्ष निरञ्जन बजगाइले जानकारी दिए ।