३ हजार बढी नेपालीले गुमाए ज्यान , १६ जना कोमामा

18

काठमाडौँ । पछिल्लो तीन वर्षमा तीन हजार १९९ नेपाली युवाहरूले विदेशी भूमिमा ज्यान गुमाएका छन्। सरकारले आइतबार सार्वजनिक गरेको श्रम, आप्रवासन प्रतिवेदन २०२२ अनुसार ज्यान गुमाउनेमा पुरूषहरूको संख्या धेरै छ।

सन् २०१९/०२० देखि २०२२ सम्म तीन हजार ११५ जना पुरूषले ज्यान गुमाएका छन् भने ८४ जना महिलाले ज्यान गुमाएका छन्।

प्रदेशगत रूपमा हेर्दा मधेश प्रदेशका ७५१ जनाले ज्यान गुमाएका छन्। प्रदेश १ का ७०९ जना, लुम्बिनी प्रदेशका ६७७, गण्डकी प्रदेशका ४७८, बागमती प्रदेशका ४०९ जनाले ज्यान गुमाएका छन्। त्यस्तै कर्णाली प्रदेशका ११० र सुदूरपश्चिम प्रदेशका ५६ युवाले ज्यान गुमाएका हुन्।

त्यस्तै पछिल्लो वर्ष विभिन्न मुलुकका अस्पतालमा १६ जना नेपालीहरू जटिल अवस्थामा कोमामा उपचाररत छन्। जसमा १४ जना पुरूष र २ जना महिला रहेको तथ्यांकले देखाएको छ। प्रतिवेदनमा उल्लेख भएअनुसार कतारका विभिन्न अस्पतालमा १३ जना, साउदीमा दुई जना, ओमान र दक्षिण कोरियामा १/१ जना कोमामा उपचाररत छन्।