दुई बैंकलाई नगद जरिबाना

145

काठमाडौं । नेपाल राष्ट्र बैंकले नियामकीय व्यवस्था उल्लंघन गरेपछि २ वटा बैंकलाई जरिबाना गरेको छ भने ६ वटा बैंकलाई सचेत गराएको छ । चालु आर्थिक वर्षको प्रथम त्रैमासमा राष्ट्र बैंकको बैंक सुरपरिवेक्षण विभागले बैंक, बैंकका अध्यक्ष सञ्चालक र प्रमुख कार्यकारी अधिकृतलाई नियामकीय व्यवस्था उल्लंघन गरेको पाइएपछि कारवाही गरेको केन्द्रीय बैंकले जनाएको छ ।

राष्ट्र बैंकको निर्देशन उल्लंघन गर्नेमा सनराइज र मेगा बैंक अगाडि देखिएका छन् । दुवै बैंकको व्यवस्थापन र सञ्चालक समितिलाई नियामकीय व्यवस्था उल्लंघन गर्दा राष्ट्र बैंकले ३ पटक सममा सचेत गराएको छ ।

सरकारी लगानी रहेको कृषि विकास बैंकले सम्पत्ती शुद्धीकरण सम्बन्धी ऐनको उल्लंघन गर्दा २० लाख रुपैयाँ नगद जरिबाना गरिएको राष्ट्र बैंकले जनाएको छ । यस्तै बैंक अफ काठमाण्डूलाई राष्ट्र बैंकले तोकेअनुसारको विपन्न वर्ग क्षेत्रमा कर्जा लगानी नगर्दा २ करोड ११ लाख ८५ हजार ६० रुपैयाँ ६७ पैसा नगद जरिबाना गरिएको राष्ट्र बैंकले उल्लेख गरेको छ ।

यस्तै चारवटा वाणिज्य बैंकलाई नेपाल राष्ट्र बैंक, बैंक तथा वित्तीय संस्था नियमन विभागले रोक्का राख्न निर्देशन दिएका खाताहरुमा कारोबार गरेको पाइएकोले बैंकका प्रमुख कार्यकारी अधिकृतहरुलाई सचेत गराइएको केन्द्रीय बैंकले जनाएको छ । प्राइम कमर्सिलय बैंक, कुमारी बैंक, बैंक अफ काठमाण्डू र प्रभु बैंकले राष्ट्र बैंकले रोक्का राख्न निर्देशन दिएका खाताहरु पनि रोक्का नराखेका हुन् ।