कृषि विश्वविद्यालयमा ४ विद्यार्थी संगठनले लगाए ताला

48

चितवन । चितवनको कृषि तथा वन विज्ञान विश्वविद्यालयमा बेथितिपूर्ण तरिकाले स्नातक तहको प्रवेश परीक्षा सञ्चालन गर्न लागिएको भन्दैं विद्यार्थीहरुले ताला लगाएका छन् । विश्वविद्यालयको मुख्यालय, कृषि संकाय लगायतका ठाँउमा विद्यार्थीहरुले तालाबन्दी गरेका हुन् ।

गत कात्तिक २९ गते विश्वविद्यालयले प्रकाशन गरेको प्रवेश परीक्षाको अनलाइन आवेदन भर्नेसम्बन्धी सूचना आपत्तिजनक, त्रुटिपूर्ण, विद्यार्थीलाई मार पार्ने खालेको भएको भन्दै चार विद्यार्थी संगठनले चरणवद्ध आन्दोलन गर्दै आएका छन् ।

अनेरास्ववियू, नेविसंघ, अनेरास्ववियु क्रान्तिकारी र अनेरास्ववियू छैँटौँले विभिन्न पाँच बुँदामा असहमति जनाएका छन् । नयाँ पाठ्यक्रम नै सार्वजनिक नगरी ‘नयाँ पाठ्यक्रमअनुसार अध्यापन गराइने छ’ भनी विश्वविद्यालयले सूचना जारी गरेको छ ।

नयाँ पाठ्यक्रम कुन हो, कस्तो हो, कहाँ छ, कहिले बनेको हो, कुनै जानकारी विना नै सूचनामा नयाँ पाठ्यक्रम अनुसार अध्यापन गराइने भनिएकोमा आफूहरुको आपत्ति रहेको अनेरास्ववियु केन्द्रीय क्याम्पस कमिटी अध्यक्ष विक्रम खनालले बताए ।

उनले यसलाई विद्यार्थी माथिको धोका मात्रै भएको बताए । पाठ्यक्रम कहिले बनेको हो, त्यसले विधीसम्वत प्रकृया पूरा गरेको छ की छैन, कुन निकायबाट पास भएको हो, कुनै जानकारी छैन, खनालले भने, पदाधिकारीलाई जे मन लाग्यो त्यो गर्ने छुट छैन ।

प्रवेश परीक्षामा सहभागी हुन तोकिएको न्यूनतम शैक्षिक योग्यतामध्ये कुल प्राप्ताङ्कमा पनि संगठनहरूको आपत्ति जनाएका छन् । प्रमाणपत्र तहमा पहिले राखिएको ५० प्रतिशत प्राप्ताङ्क ल्याएकाहरुले मात्रै प्रवेश परीक्षामा सहभागी हुने पाउने व्यवस्था भएकोमा अहिले त्यसलाई घटाएर ४५ प्रतिशतमा झारिएको छ ।