चीनमा सरकार विरोधी प्रदर्शन चर्किँदै

36

काठमाडौं । चीनमा कोरोना भाइरस रोकथामका लागि लगाइएका प्रतिबन्धको विरोधमा सरकारविरोधी प्रदर्शन चर्किँदै गएको छ । प्रदर्शनकै क्रममा केही पक्राउ पनि परेका छन् । आइतबार राति चीनको प्रमुख व्यापारिक शहर सांघाईमा प्रदर्शनमा सहभागी भएका केही पक्राउ परेका बीबीसीले जनाएको छ ।

सांघाईको मुख्य प्रदर्शनस्थलमा अहिले प्रहरीले सर्वसाधारण नागरिकलाई प्रवेशमा रोक लगाएको छ । त्यो सडक आपपासमा हिँड्ने र तस्वीर लिनेलाई प्रहरीले ठाउँको ठाउँमा समत्ने गरेको छ ।

चीनको उरुम्चीस्थित एक अपार्टमेन्टमा आगलागी भएर १० जनाको मृत्यु भएलगत्तै प्रदर्शन सुरु भएको थियो । सरकारले लकडाउन गरेर घरबाहिर निस्किन नदिएकै कारण उनीहरुको मृत्यु भएको भन्दै उरुम्चीबाट सुरु भएको प्रदर्शन चीनका अन्य शहरमा पनि फैलिएको छ ।

यो विरोध प्रदर्शन सरकारको शुन्य कोभिड नीतिको विरोधमा बदलिएको छ र प्रदर्शनकारीले राष्ट्रपति सि जिनपिङको राजिनामासमेत मागेका छन् । केही ठाउँमा प्रदर्शनकारीले मैनवत्ती बालेका छन् त केही ठाउँका प्रदर्शनकारी सेतो कागज देखाउँदै जुलसमा सहभागी भएका छन् ।

चीनमा कम्युनिष्ट पार्टी र सरकारविरुद्ध बोल्नुलाई निक्कै खतरनाक मानिन्छ । सरकार र पार्टी विरुद्ध बोल्ने, प्रदर्शन गर्नेलाई जेल सजायसमेत हुन सक्छ । तर पनि त्यसको प्रवाह नगरी चिनियाँ नागरिक सडकमा निस्किएका छन् ।