विप्लव समूहले लगायो नगरपालिकामा ताला

58

धनगढी । नेत्रबिक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले घोडाघोडी नगरपालिका कार्यालयमा तालाबन्दी गरेको छ ।

नगरपालिकामा जनप्रतिनिधिको संलग्नतामा नीतिगत भ्रष्ट्राचार मौलाइरहेको, जनताका समस्याप्रति उदासिन भएको लगायतका आरोप लगाउँदै तालाबन्दी गरिएको उक्त पार्टीका घोडाघोडी नगर समितिका इन्चार्ज भरत र सचिव अर्जुनले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

उनीहरुले प्रमुख प्रशासकीय अधिकृतको सरकारी निवासमा मादक पदार्थ सेवन गरी जनप्रतिनिधि र कर्मचारीले टेबुल र कम्प्युटर तोडफोड गरेको, ढुंगा, बालुवा उत्खननमा विना मापदण्ड ओसार पसार गर्न दिएको र पैसा असुल गरेको आरोप पनि लगाएका छन् ।

शनिबार नगर कार्यपालिका बैठक चलिरहेका बेला नेकपाका कार्यकर्ताले तालाबन्दी गर्दा कर्मचारी र जनप्रतिनिधि थुनिएको जिल्ला प्रहरी कार्यालय कैलालीका डीएसपी लक्ष्मण शाहीले बताए ।