आफू हार्ने भएपछि कार्कीले मतगणना अवरुद्ध पारेः कुसियत

50

काठमाडौँ । सुनसरी क्षेत्र नम्बर ४ प्रतिनिधि सभाबाट नेकपा (एमाले) का उम्मेदवार जगदीशप्रसाद कुसियतले आफूले हार्ने निश्चित भएपछि मतगणना कार्य अवरुद्ध पारेर सञ्चारमन्त्री  ज्ञानेन्द्रबहादुर कार्कीले बखेडा झिकिरहेको आरोप लगाएका छन्।

मन्त्री कार्कीले मानसिक रुपमा आफू हार्ने निश्चित भएपछि अन्तिम समयमा आएर मतगणना नै हुन नदिएको उनको जिकिर छ।  सञ्चारमन्त्री कार्कीले शनिबार अपराह्न धाँधली भएको भन्दै पुनः मतगणना गर्नुपर्ने माग राखेपछि मुख्य निर्वाचन अधिकृतको कार्यालयले दलीय सहमति जुटाएर मतगणनाको कामलाई सुचारु गराउन आइतबार (आज बिहान) सर्वदलीय बैठक बोलाएको थियो।

बैठकमा मन्त्री कार्कीले पुनः मतगणना हुनुपर्ने अडान राखेपछि अझै मतगणना कार्य अघि बढ्न सकेको छैन। एमाले उम्मेदवार कुसियतले भने बाँकी रहेको मत गणना कार्य तत्काल सुरु गर्न निर्वाचन आयोगसँग माग गरेको बताए। आफूहरुको सो अडान कानूनसम्मत भएको दाबी गर्दै उनले त्यसबाट पछि हट्न नसकिने पनि स्पष्ट पारे।

कुसियतले भने, ‘यहाँ हाम्रो भनाइ के हो भने मतगणना जहाँ रोकिएको छ, त्यसलाई सुचारु गरौँ। बाँकी रहेको मतगणना अविलम्ब सुरु गरौँ। तर सूचना तथा सञ्चारमन्त्रीज्यूको भनाइ के हो भने अहिले निर्वाचन आयोगले गरेको मतगणना र उसले जुन सूचना प्रकाशित गरेको छ, त्यसलाई क्यान्सिल गरेर रिमतगणना गरौँ भनेर उहाँको जिकिर हो। त्यसैमा हाम्रो डिबेट चलिराखेको छ। एमालेको कानूनसम्मत अडान हो। हामीले कानूनलाई हातमा लिन खोजेका छैनौँ। एमालेले स्पष्ट के भनेको छ भने कानूनमा के भन्छ? जो मतगणना भयो, त्यसलाई छोडौँ। बाँकी रहेको मतगणना सुरु गरौँ। उनले सायद मानसिक रुपमा हार स्वीकार गरी सक्नुभएको छ। म हारिरहेको छु, त्यो हारलाई कसरी बचाउने भनेर उहाँले बखेडा झिक्नुभएको मात्रै हो।’

यता, मुख्य निर्वाचन अधिकृतको कार्यालयले दुवै पक्षका उम्मेदवारहरुबीच सहमति जुटाएर मतगणना कार्य सुचारु गराउन पहल भइरहेको जनाएको छ।