निर्वाचनको मुखैमा थापा र खड्काबीच जुहारी

49

कास्की । यतिबेला कास्कीमा प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा लागि नेपाली कांग्रेस र नेकपा (एमाले)कोभन्दा पनि कांग्रेसभित्रको चर्चा बढी चलेको छ ।

प्रदेशसभा सदस्य कास्की निर्वाचन क्षेत्र नम्बर–२ (ख)मा प्रत्येक्षतर्फ कांग्रेसका विन्दुकुमार थापाको उम्मेदवारी रहेको छ । कास्कीमा निर्वाचनका लागि टिकट पाउनुभन्दा अघिबाटै चर्चामा थियो । एकै निर्वाचन क्षेत्रका दुई जनामध्ये कुमार खड्का भौतिक पूर्वाधार शहरी विकास तथा यातायात मन्त्री र थापा कानुन सञ्चार तथा प्रदेश मामिला मन्त्रीमध्ये कसले टिकट पाउने भन्ने चर्चा उठ्दै गर्दा व्यवसायी घरानाका थापाले खड्कालाई उछिने ।

टिकटदेखि सुरु भएको दुई मन्त्रीबीचको टकराबका कारण खड्कालाई मन्त्रीपदबाट बर्खास्त गरिएको छ भने टकराबकै कारण थापालाई आगामी निर्वाचनमा मत पाउन निकै मुस्किल भएको छ ।

खड्को प्रभाव बढी रहेको कास्की क्षेत्र २(ख)मा गठबन्धनका तर्फबाट कांग्रेसका थापाको उम्मेदवारी रहेको छ । यसअघि थापाले खड्काले चुनावी अभियानमा आफूलाई असहयोग गरेको आरोप लगाउँदै आएका थिए । त्यतिमात्रै होइन खड्कामाथि थापालाई नै हराउन एमालेको तर्फबाट उम्मेदवार बनेकी मिना गुरुङसँग मिलेको आरोप समेत छ ।

थापालाई असहयोग गरेको आरोप खेप्दै आएका कुमार खड्काले भने आफूलाई मन्त्रालयबाट अपमान जनक तरिकाले निकालिनुमा थापा र मुख्यमन्त्रीको हात रहेको आरोपसमेत लगाएका छन् । उनले बिहीबार पत्रकार सम्मेलन गर्दै मुख्यमन्त्री र थापाको चलखेलका कारण आफूलाई अपमान जनक तरिकाले निकालिएको बताएका छन् ।